विराटनगरः मोरङको मिक्लाजुङ गाउँपालिका–७ पारिवारिक विवाद मिलाउन पुगेका एक व्यक्तिको सामूहिक आक्रमणमा परी मृत्यु भएको छ ।
श्रीमान र श्रीमतीबीचको झगडा मिलाउन पुगेका उनको सामूहिकरुपमा आक्रमण हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै सामूहिक रूपमा आक्रमण गरिएपछि गम्भीर घाइते भएका स्थानीय ४३ वर्षीय धनराज लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनका भाइहरु ३० वर्षीय आइतराज र २६ वर्षीय सञ्जय तामाङसहितले आक्रमण गरेको दुई दिनपछि लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही स्थानमा डेरा गरेर बस्दै आएका रविन र उनकी श्रीमती निरुताबीच झगडा भएको सुनेपछि लिम्बू भदौ ३ गते राति ८ः४० बजेतिर घटनास्थलमा पुगेका थिए । झगडा भएको सुनेपछि रविनका जेठान ४० वर्षीय भाग्य बम्जन (तामाङ) आफ्नो मासु पसलमा आएका छिमेकीहरु ५५ वर्षीय दुर्गाबहादुर कार्की र लिम्बूलाई लिएर बहिनी–ज्वाईंको डेरामा गएको खुलेको छ । मिलेर बस्न र परिवारमा झगडा नगर्न भनेर सम्झाउने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू र कार्कीमाथि दाउराले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा शनिबार राति ११ः४५ बजेतिर मृत्यु भएको हो । कुटपिटबाट सामान्य घाइते भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान थालिएको जानकारी डीएसपी श्रेष्ठले दिए ।
