उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका–३ मा मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा एकजनाको ज्यान गएको छ ।
गाईघाटबाट मोतिगडातर्फ जाँदै गरेको प्र–१–०५–००१ प ३७१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक शान्तिराम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता (डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।
मृतक ३२ वर्षीय राई सवार मोटरसाइकल त्रियुगा पुलनजिकै लच्का छेउको बिजुलीको पोलमा ठोकिएको थियो । पोलमा ठोक्किए दुर्घटना भएको मोटरसाइकलका चालक घाइते राईलाई तत्काल स्थानीय र प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लगेका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थायी घर भएका राईले मादक पदार्थ सेवन गरी सवारी चलाएकाले नियन्त्रण बाहिर जाँदा घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
