विराटनगरः विराटनगर १२ का विजयकुमार यादवले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पासपोर्ट र पैसा लिएर फरार भएको भन्दै सिराहाको मिर्चैयाबाट पीडितहरु विराटनगर आएर घर घेरेका छन् ।
१ सय ९२ जनाबाट नगद पासपोर्ट तथा जिन्सी लिएर फरार भएको भन्दै उनीहरु विराटनगरमा आएका हुन् । यादवले १५ हजारदेखि ८ लाख भन्दा बढी पैसा असुलेको पीडितहरुले आरोप लगाएका छन् । कुवेत, क्यानडालगायतका मुलुकमा पठाइ दिने भनी पैसा असुलेर दुई महिनादेखि यादव बेपत्ता भएको पीडितको गुनासो छ ।
पीडितहरुले ऋण खोजेर पैसा बुझाएको र अहिले ऋण तिर्न समस्या भएको बताएका छन् । केही व्यापारीहरुबाट समेत उनले ठेक्का पट्टा गर्ने भन्दै रड, सिमेन्ट र घर डेकुरेसनका सामाग्री ल्याएका थिए । ‘मेडिकल गर्न भनेरै १५ हजार लिएको र पछि भिसा आएको टिकटको पैसा भन्दै ५० हजार दिएका थियौं,’ विराटनगर आएका पशुपति पासवानले भने, ’ पैसो दिएपछि मिर्चौया चोकमा रहेको अफिस बन्द गरेर सम्पर्कविहीन भए ।’ देवभूमि ग्रुप नाममा मिर्चैयामा अफिस खोलेर यादवले ठगी गरेको पीडितहरुको आरोप छ ।
जनकपुर घर बताउने यादवले दुई महिनादेखि फरार भएपछि न्याय खोज्दै पीडितहरु उनको घर भएकै स्थानमा आइपुगेका छन् ।