धरानः मेयर तिलक राईले शैक्षिक हबको रुपमा, स्वस्थ पर्यटनको रुपमा, धार्मिक, सांस्कृतिक पर्यटनको रुपमा धरानलाई अगाडि बढाउन सकिने बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरानका मेयर राईले सुनसरी उद्योग वाणिज्य संघको ५८ औं वार्षिक उत्सव समारोहमा यस्तो बताएका हुन् ।
‘आजभोलि हाम्रो धेरै छोराछोरीहरु, नानीबाबुहरु धरानकै स्कुल र कलेजहरुमा पढिरहेको छ । अहिले धरानमा राम्रो स्थिति बनेको छ । तर, एक दशक अगाडिसम्म धेरै भारतको दार्जिलिङ, सिक्किम, देरादुन, काठमाण्डौंलगायत ठाउँहरुमा अध्ययन गर्न जाने परम्परा थियो । अहिले त्यो परम्परा हराउँदै गएको छ । यो एउटा राम्रो पक्ष पनि हो,’ मेयर राईले भने ।
अबको दिनमा धरानलाई व्यापार व्यवसायले मात्रै अगाडि बढाउन नसकिने बताउँदै मेयर राईले धरानमा उद्योग कम रहेको बताए । ‘धरानको बजारलाई व्यवस्थित गर्दै घरभाडाको विषयमा पनि छलफल तथा नियमन गर्न आवश्यक छ । मूल्यको हिसाबमा पनि हामीले सहजीकरण गर्ने हो भने धरानको बजार त्यस्तो अवस्थामा छैन । किनभने, क्रयशक्तिको हिसाबले धरानमा राम्रो स्थिति छ । त्यसलाई हामीले बुझेर अगाडि बढ्नुपर्छ,’ मेयर राईले भने ।
धरानमा व्यापारीलाई पनि फाइदा हुनेगरी र उपभोक्तालाई पनि फाइदा हुनेगरी काम हुन नसकेको मेयर राईको भनाइ थियो । मेयर राईले व्यापार व्यवसायीहरुलाई पसलमा आएका ग्राहकहरुलाई निःशुल्क मास्क बाँड्न पनि आग्रह गरे । उपमहानगरपालिकाले सहकार्य गरेर मेडिकल (औषधी) पसलहरुसँग छलफल गरेर निःशुल्क मास्क वितरण गर्न आग्रह गरिने बताए । ‘स्वास्थ्य, शिक्षा, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, खेलकुद पर्यटन, साहसिक खेलकुद पर्यटनलाई नाराको रुपमा हरेक पल्ट भन्दै आएका छौं, सुनसरी उद्योग वाणिज्य संघ र स्थानिय सरकारबीच छलफल तथा सहकार्य गरेर अगाडि बढ्नुपर्छ,’ मेयर राईले भने । सुनसरी उद्योग वाणिज्य वाणिज्य संघले आफ्ना कार्यक्रम र गतिविधिहरु, व्यापार व्यवसायी, उपभोक्ता, जिल्लाबासी र नगरबासीको हितमा काम गर्न आग्रह गर्दै मेयर राईले शुभकामना व्यक्त गरे ।

उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिका र उद्योग वाणिज्य संघको सहकार्यमा धेरै क्रियाकलापहरु गरिएको बताइन् । आगामी दिनमा उद्योग वाणिज्य संघसँग यस्तै सहकार्य हुँदै जाने उपमेयर भण्डारी बताइन् ।
कोरोनाका कारण व्यापार व्यवसायी धरासयी बन्दै गएको अवस्थामा पनि उद्योग वाणिज्य संघले उपमहानगरपालिकालाई सहयोग गरिरहेको उनले बताइन् । वार्षिक उत्सव समारोहका अध्यक्ष समेत रहेका सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले वस्तुगत व्यवसायी र उद्योगी व्यवसायीहरु मास्क, सेनिटाइजर, सामाजिक दुरी अनिवार्य पालना गरेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरे । अध्यक्ष सापकोटाले व्यक्तिगत केही स्वार्थ नलिई सामाजिक काम गर्न पनि ध्यानाकर्षण गराए । धरानमा बजार अनुगमन गर्दा अधिकांश मानिसहरुले मास्क प्रयोग नगरेको पाइएको उनको भनाई थियो । उपमहानगरपालिकासँग निरन्तर सहकार्य गरेर अघि बढ्ने बताउँदै अध्यक्ष सापकोटाले यसवर्ष उपमहानगरपालिकाले २५ प्रतिशत छुट दिएको पनि उनले जानकारी दिए ।
वार्षिक उत्सव समारोहमा सुनसरी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजेन्द्र शाह, भूतपूर्व अध्यक्ष गौरीशंकर शाह, सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, इलाका प्रशासन कार्यालय धरानका प्रमुख सुवास कुमार लामिछाने, इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर, सशस्त्र प्रहरी बेस क्याम्प प्रमुख कृष्णप्रसाद श्रेष्ठलगायतको उपस्थित रहेको थियो ।