विराटनगरः मोरङको उर्लाबारी र सिजुवामा प्रहरीले प्रतिबन्धित औषधिसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ८ स्थित रातोहोली बस्ने २७ वर्षीय अनिश श्रेष्ठ र २१ वर्षीय सुजन श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुको घर कोठाबाट ट्रमाडोल र स्पासपेन १४ टयाब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।
त्यस्तै, रतुवामाई नगरपालिका २ घरुचौकबाट इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका १ का २१ वर्षीय माधव श्रेष्ठलाई नाईट्रोभेट ६६० र कोरेक्स– १ बोतल लागूऔषध सहित पक्राउ गरेको छ भने सोही स्थानमा सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नेपाल तर्फ आउदै गरेको मे१ह ३१७२ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोमा लुकाई राखेको प्रतिबन्धित औषधी स्पासपेन ५ सय ट्याब्लेट र ट्रामाडोल १ हजार ट्याब्लेट बरामद गरी अटोमा सवार रहेका मोरङ उर्लाबारी ५ का २३ वर्षीय समिर मगर, झापा दमक १४ का २९ वर्षीय अब्दुल आमिर खान र उर्लाबारी ५ का २४ वर्षीय घनश्याम गुरुङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ ।