धरानः झापाको कमल गाउँपालिका ५ आदीबासी रङशाला अगाडी पूर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदलयात्री बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको छोरा ४ वर्षीय मानव कापरी रहेका छन् ।
शुक्रबार दिउँसो साढे ११ बजे पश्चिम आउँदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको हो । पिकअप र चालक मकवानपुर हेटौंडा नगरपालिका ११ का २४ वर्षीय अजय पाख्रिन इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यस्तै, विराटनगर महानगरपालिका १८ खोक्साहा का २८ वर्षीय पप्पुकुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो ११ बजे विराटनगर–१७ स्थितमा रहेको रघुपति जुटमिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागि घाइते कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साँढे ११ बजे मृत्यु भएको थियो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको छ ।
यसैबीच मोरङ धनपालथान गाउँपालिका ७ कदमाहा का ३२ वर्षीय राम भरोस केवरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो पौने ११ बजे घरदेखि ५ सय मिटरमा रहेको पानी जमेको खाल्डोमा पटुवा धुने क्रममा उनको डुबेर मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।