Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जहाँ शिक्षक छन्, विद्यार्थी छैनन्

हाम्रो कोशी आवाज
भाद्र १९ २०७८, शनिबार
जहाँ शिक्षक छन्, विद्यार्थी छैनन्

खोटाङः खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ४ खाल्लेस्थित बालज्योति प्राविमा शिक्षक संख्याको अनुपातमा विद्यार्थी संख्या कम रहेको पाइएको छ । दुईवटा स्थायी दरबन्दी र एउटा करार दरबन्दी रहेको विद्यालयमा हाल विद्यार्थी संख्या भने २५ जना मात्र रहेको जनाइएको छ ।
कक्षा–४ सम्मको पठनपाठन हुँदै आएको विद्यालयमा हाल कक्षा–१ मा १२ जना र कक्षा–२ मा ६ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक उर्मिला कटुवालले बताइन् । प्रअ कटुवालका अनुसार कक्षा–३ र कक्षा–४ को विद्यार्थी संख्या भने विद्यालय खुलेपछि मात्र खुल्नेछ । कोभिड–१९ को महामारीका कारण सो विद्यालयको पठनपाठन गत १५ वैशाखदेखि बन्द छ ।
सो ठाउँका अधिकांश अभिभावकले आफ्ना बालबच्चालाई बोर्डिङ स्कुलमा भर्ना गरेका कारण बालज्योतिमा विद्यार्थी संख्या न्यून देखिएको हो । सो विद्यालयमा सामान्य पारिवारिक अवस्थाका बालबच्चा मात्र अध्ययन गर्न आउने गरेका छन् । त्यसमा पनि दलित बस्तीका बालबालिका बालज्योतिमा आउने गरेको व्यवस्थापन समितिका अध्यक्ष राजन बस्नेतले बताए । ‘यहाँ विद्यालय नभए दुई दर्जन जना बालबच्चाको भविष्य अन्धकार हुन्छ’, विव्यास अध्यक्ष बस्नेतले भने, ‘शीतला मावि पुग्न टाढा पर्छ, सगरमाथा प्रावि धेरै तल पर्छ । भौगोलिक रूपले समस्या छ ।’
सो विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको गत २५ जेठमा प्रकाशित २०७७ सालको वार्षिक परीक्षाको नतिजाले पनि देखाउँछ । नतिजामा कक्षा १ उत्तीर्ण गर्ने प्रथम, दोस्रो र तेस्रोसहित पाँच जना उल्लेख छ । कक्षा २ र कक्षा ३ उत्तीर्ण गर्ने विद्यार्थीको सूचीमा प्रथम दोस्रो र तेस्रोको नाम मात्र उल्लेख छ । कक्षा ४ उत्तीर्ण गर्नेको सूचीमा प्रथम विद्यार्थीको नाम मात्र उल्लेख छ ।
यस्तै, २०७७ सालमा प्रारम्भिक बाल शिक्षा केन्द्रमा तीन जना, कक्ष १ मा छ जना, कक्षा २ मा चार जना, कक्षा ३ मा तीन जना र कक्षा ४ मा दुई जना गरी कुल विद्यार्थी संख्या १८ जना रहेको नगरपालिकाकै तथ्यांकमा उल्लेख छ । झरी, वर्षा भएको र गाउँघरमा पूजापाठ भएको दिन पनि विद्यालयमा विद्यार्थी अनुपस्थित हुने गरेका छन् । सो विद्यालयमा पाँचदेखि १० जना विद्यार्थी उपस्थित हुने गरेको खाल्लेकी वडा सदस्य धनकुमारी श्रेष्ठले बताइन् ।
विद्यार्थी संख्या न्यून रहेको सो विद्यालयमा नगरपालिकाले गत १ भदौमा थप अर्को एक जना करार शिक्षक नियुक्त गरेको हो । विद्यार्थी संख्या नभएको विद्यालयमा जागिर खुवाउनकै लागि शिक्षक थपेको भन्दै कतिपय अभिभावकले आलोचना गरिरहेका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित शिक्षा ऐन, २०७५ मै ‘नगरपालिकाले शिक्षकको दरबन्दी निर्धारण गर्दा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्या र विषयका आधारमा राष्ट्रिय वा प्रादेशिक मापदण्डबमोजिम विद्यार्थी तथा शिक्षक अनुपात कायम गर्नुपर्नेछ’, उल्लेख छ । यसअनुसार एक शिक्षक बराबर सरदर ४५ जना विद्यार्थी हुनुपर्छ ।
नगर शिक्षा ऐनमा प्राथमिक तहको विद्यालयमा २२ जनाभन्दा कम विद्यार्थी संख्या भएमा नगर शिक्षा समितिको सिफारिसमा बाल शिक्षा केन्द्र मात्र कायम राखी त्यसमाथिका कक्षाहरू बन्द गर्न सक्नेछ’, भनिएको छ । खाल्लेका वडा अध्यक्ष डिल्ली चाम्लिङले भने शिक्षक भर्ना गर्दा रिसइबी गरिएको बताए । ‘हामीले शिक्षक नियुक्तिका लागि विज्ञापन खुलाएका थियौँ, त्यही रिसइबीले विद्यार्थी आउँदैन भनेका हुन्’, वडा अध्यक्ष चाम्लिङले भने, ‘विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुन्छन् । प्रायः दलित बस्तीका विद्यार्थी आउने गरेका छन् ।’

प्रकाशित मिति: भाद्र १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend