संखुवासभाः संखुवासभामा मिनी ट्रक शनिबार राति दुर्घटनामा परेको छ ।
दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा धनकुटा घर भएका ३० वर्षीय जनक पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । उनी ट्रकका चालक थिए । उनलाई ट्रकले किचेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेहरुमा रक्की कुमार, बलु मगर र राहुल मालकर रहेका छन् । उनीहरुको जिल्ला अस्पताल खाँदबारीमा उपचारमा सम्भव नभएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले जानकारी दिए ।
नुमबाट खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८०८३ नम्बरको मिनी ट्रक चिचिला गाउँपालिका–१ पात्तलमा राति करिब ८ः३० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्रक सडकबाट लगभग सय मिटर तल खसेको थियो । ती मजदुर घरतर्फ फर्किदै गरेको प्रहरीले जनाएको छ । ‘उनीहरु काम सकेर घरतर्फ फर्किने क्रममा अरुण तेस्रोको सब्जी बोक्ने मिनी ट्रकमा चढेका रहेछन्, राति दुर्घटनामा परेछ ।’ डिएसपी सुवेदीले भने ।
दुर्घटनामा भारतीय नागरिक ३२ वर्षीय राहुल मालकर, २४ वर्षीय मौतुन राय, १८ वर्षीय रक्की कुमार, विशाल कुमार, २७ वर्षीय सङ्कज कुमार, ३० वर्षीय राभेन वैश्णव र २१ वर्षीय अरविन्द्र कुमार घाइते भएका छन् ।
त्यस्तै, दुर्घटनामा संखुवासभाकै खाँदबारी नगरपालिका–८ पिप्लेका १८ वर्षीय सविन विक र खाँदबारी-७ का २९ वर्षीय बलु मगर पनि घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको थियो ।