धरानः धरानमा एक टोलीले धरान उपमहानगरपालिकाका मेयर तिलक राईको कार्यकक्षअगाडि नाराबाजी गरेका छन् ।
हर्क साम्पाङको नेतृत्वमा पुगेको टोलीले पानीको महसुल घटाउन र मान्छे लडाउने खाल्डाखुल्डी पुर्न आग्रह समेत गरेको छ । सरकारी महसुल दरमा धरानमा पनि लागू गर्नुपर्ने उनीहरुको माग छ ।
हाम्रो आन्दोलन जारी छ, धराने जनता एक होऔं, पैसा लिएपछि धारा देऊ, धारा मात्रै होइन पानी पनि देऊ, पानी माफिया मुर्दावाद, पानी माफियाहरुलाई ठेगाना लगाऔंलगायतका चर्का नाराबाजी गर्दै उनीहरुले केहीबेर मेयरको कार्यकक्षअगाडि प्रदर्शन गरेका थिए । यस्तै, उनीहरुले सरकारी महसुल लागू गर, पानीको व्यापार बन्द गर, बहानाबाजी बन्द गर, जिम्मेवारी बहन गरलगायतको नारा पनि लगाएका थिए । यसअघि आफूहरु पटक पटक धरान उपमहानगरपालिकासँग पानी माग्दै आन्दोलित बनेको र यसपटक पानीको महसुल घटाउन माग गरिएको उनीहरुको भनाइ छ ।

‘पानीको बिल अत्याधिक रहेको छ, पानीको बिल घटाइनुपर्छ भन्ने हाम्रो माग हो’, हर्क साम्पाङले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘पानीको बिल सरकारी दररेट अनुसार हुनुपर्छ ।’ उनले एडिबी परियोजनाको पानी वितरण गर्दा १ लाख १३ हजारसम्मको बिल समेत आइपुगेकोले आफूहरु चकित परेको जानकारी दिए । ‘यत्रो बिल आउनु हुँदैन थियो भनेर विरोध गरेपछि १७ हजारसम्ममा पानीको बिल मिलाइएको हामीसँग प्रमाण छ’, उनले भने, ‘त्यसरी धराने जनतालाई आर्थिक शोषण गरिनु हुँदैन भन्ने हाम्रो माग हो ।’
यस्तै, आफूहरुले धरानमा मान्छे लडाउने र दुर्घटना गराउने खाल्डाखुल्डी भएपनि चासो नदिइएको बताए । ‘धरानका अधिकांश सडकमा खाल्डाखुल्डी छन्, भोटेपुलदेखि बुद्धचोकसम्म जाने सडकमा त पाइलैपिच्छे खाल्डाखुल्डी छ’, उनले भने, ‘धरानको खाल्डाखुल्डी पुर्नसक्नुपर्छ भन्ने माग राखेर फर्किएका छौं ।’
उता मेयर तिलक राईले भने वार्ता टोली बनाएर आउन आग्रह गरेको उनले जानकारी दिए । एक अर्ब ७७ करोडको खानेपानी आयोजना सम्पन्न भइसक्दा पनि अहिलेसम्म विवाद कायमै छ । अझै पनि घरमा जडान गरिएका धारामा खानेपानीको समस्या रहेको गुनासो बढिरहेको छ ।
यसअघि मेयर तिलक राईलाई भेटी साम्पाङ नेतृत्वकै दीर्घकालीन खानेपानी संयुक्त संघर्ष समितिले ज्ञापनपत्रसमेत बुझाइसकेको छ ।
लामो समयदेखि पानीको समस्या भोग्दै आएको धरानमा एडिबीको पानी आउने भएपछि धरानवासीमा पानीको समस्या समाधान हुने आशा पलाएको थियो तर स्थानीय राजनीतिक दल र सरोकारवाला निकायबीच विवाद उत्पन्न भएपछि आशा निराशामा बदलिँदै गएको छ । पानी खुवाउँछौं भनेर बाचा गरेका दलहरू अहिले एकआपासमा दोषारोपण गर्दै पन्छिन थालिसकेका छन् ।