बिर्तामोडः आफ्नै दाजुको हत्या गरी फरार रहेका झापा कचनकवल ३ का ३७ वर्षीय रतन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
कचनकवल गाउँपालिका ३ केचना घर भई हाल बिर्तामोड–४ मा डेरा गरी बस्ने ५० वर्षीय भात्रु राजवंशी आफू सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटी गई बुझ्दा हत्या भएको आशंकामा अनुसन्धान गर्ने क्रममा उनकै भाई रतनले मार्तलले हानी हत्या गरेको खुल्न आएको छ । घटनापछि रतनलाल आफ्ना छोरा ९ वर्षीय श्रीमन राजवंशीलाई साइकलमा साथमा लिएर भागेका थिए । शनिबार राति १२ बजे दाजुभाइबीच सामान्य विवाद भएको थियो । उनले प्रहरीसमक्ष दाजुको हत्या गरेको कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ ।
दाजुको हत्या गरी फरार रहेका रतनलाई खोजतलासमा खटिएको प्रहरी टोलीले आइतबार राति ९ बजे मेचीनगर १५ स्थितबाट मार्तलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
साथै उनलाई जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान शीर्षकमा म्याद थप गरी थप अनुसन्धान जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए । घटना आइतबार बिहान साढे ७ बजे घटेको उनले जानकारी दिए ।











