धरानः संखुवासभामा एकैपरिवारका ६ जनाको विभत्स हत्या भएपछि अनुसन्धानको लागि धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट तालिमप्राप्त ‘डग’ को मद्दत लिइने भएको छ । घटनाको ‘क्लु’ पत्ता लगाउन कुकुरले सहायता गर्ने प्रहरीले जनाएको छ ।
१ नम्बर प्रदेशमा कर्तव्य ज्यान जस्ता संवेदनशील घटनाहरूमा अपराधी पहिचान गर्न सो ‘डग’ प्रयोग गरिन्छ । घटनास्थलमा अपराधीले छाडेको सुराक सुँघेर पत्ता लगाउन सक्ने क्षमताको ‘डग’ ले यसअघि प्रदेश १ का विभिन्न जिल्लामा घटेका हत्यालगायतका घटनामा प्रहरीलाई अपराधीसम्म पुरयाउन ठूलो मद्दत गर्ने गरेको छ ।
६ जना परिवारको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘सङ्घीय इकाई कार्यालयबाट डगको सहायता मागिएको छ, त्यहाँबाट पनि टोली हिँडिसकेको जानकारी आएको छ’, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी फोनमा जानकारी दिए । उनका अनुसार अहिले पनि आफूहरुको टोली घटनास्थलतर्फ गइरहेको छ ।
सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको कमाण्डमा टोली पनि घटनास्थलतर्फ गइरहेको एसएसपी गोविन्दकुमार शाहले जानकारी दिए । ‘त्यहाँ ठूलै घटना भएछ, त्यही भएर एसपीकै कमाण्डमा टोली हिँडिसकेको छ’, एसएसपी शाहले भने, ‘घटनास्थल पुगेपछि डगले प्रहरी अनुसन्धानलाई सघाउने छ ।’
उनका अनुसार अनुसन्धानमा कुनै कसुर बाँकी राखिँदैन । ‘अनुसन्धानका कुनै कसूर बाँकी रहँदैन । प्रहरीले अवश्य हत्यारा पत्ता लगाएरै छाड्नेछ,’ एसएसपी शाहले भने । उनका अनुसार घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी बढाइएको छ ।
संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेका थिए । अज्ञात समूहबाट शेरबहादुर कार्कीसहित उनकी आमा, श्रीमती, बुहारी र बच्चा दुई जना गरी ६ जनाको हत्या भएको छ । घरेलु हतियार प्रहार गरेर सबैको हत्या भएको शवको प्रकृति हेर्दा पाइएको डीएसपी सुवेदीले बताए । घटना गएराति नै भएको आशंका गरिएको छ भने स्थानीयले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेको मादी नगरपालिकाका मेयर भीम लिंथेपले जानकारी दिए ।
मृत अवस्थामा फेला पर्नेहरुमा सोही स्थान की ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वबर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेकी छन् । परिवारमा रहेका ७ जनामध्ये ९० वर्षीय बौद्धमान कार्की मात्र जीवित छन् । उनी आँखा पनि नदेख्ने र कामपनि नसुन्ने अवस्थाका रहेको बताइएको छ । तेजबहादुरका दुवैछोरा वैदेशिक रोजगारीका लागि कतार र मलेसियामा पुगेको प्रहरीले जनाएको छ । यस्तै, दुवै छोरीको विवाह भइसकेको छ ।
उनका अनुसार शव घर वरपरका छरपस्ट अवस्थामा रहेका छन् । श्रीमती र बुहारीको शव घर नजिकको खोलामा रहेको छ, भने तेजबहादुरको शव रोडमा भुँडीमा रोपेको अवस्थामा फेला परेको छ । साथै २ छोरी घर माथिको खरबारीमा मृत भेटिएका छन् भने आमा घर भित्र नै मृत रहेकी छन् । उनीहरूको हत्या कसले र किन गर्यो भन्ने अझै खुलेको छैन ।










