Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभामा हत्याको घटना अपडेट

हाम्रो कोशी आवाज
भाद्र २१ २०७८, सोमबार
संखुवासभामा हत्याको घटना अपडेट

धरानः संखुवासभाको मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको बीभत्स हत्या घटनाको अनुसन्धानका लागि धरानबाट हिँडेको तालिमप्राप्त कुकुर, चिकित्सक र प्रहरीको टोली सोमबार साढे ८ बजे घटनास्थल पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले टोली घटनास्थल आइपुगेको जानकारी दिए । ‘ढिलै गरी भएपनि उहाँहरुको टोली आइपुग्नुभएको छ’, उनले फोन सम्पर्कमा भने, ‘अनुसन्धानपछि मङ्गलबार बिहानमात्रै शव उठाउँछौं ।’ प्रहरीले घटनास्थलमा ‘डग स्निफिङ’ गराएको मादी नगरपालिकामा मेयर विदुर लिंथेपले जानकारी दिएका छन् ।
सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा टोली घटनास्थल पुगेको हो । दाहाल अपराध अनुसन्धानमा अब्बल मानिन्छन् ।
आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी– १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या भएको थियो ।
अनुसन्धानको लागि धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट तालिमप्राप्त ‘डग’ को मद्दत लिइएको छ । घटनाको ‘क्लु’ पत्ता लगाउन कुकुरले सहायता गर्ने प्रहरीले जनाएको छ ।

१ नम्बर प्रदेशमा कर्तव्य ज्यान जस्ता संवेदनशील घटनाहरूमा अपराधी पहिचान गर्न सो ‘डग’ प्रयोग गरिन्छ । घटनास्थलमा अपराधीले छाडेको सुराक सुँघेर पत्ता लगाउन सक्ने क्षमताको ‘डग’ ले यसअघि प्रदेश १ का विभिन्न जिल्लामा घटेका हत्यालगायतका घटनामा प्रहरीलाई अपराधीसम्म पुरयाउन ठूलो मद्दत गर्ने गरेको छ ।
जिल्लाको मादी नगरपालिका १ स्थित उम्रिङ भन्ने स्थानका ६ जना मृत फेला परेका थिए । अज्ञात समूहबाट शेरबहादुर कार्कीसहित उनकी आमा, श्रीमती, बुहारी र बच्चा दुई जना गरी ६ जनाको हत्या भएको छ । घरेलु हतियार प्रहार गरेर सबैको हत्या भएको शवको प्रकृति हेर्दा पाइएको डीएसपी सुवेदीले बताए । घटना गएराति नै भएको आशंका गरिएको छ भने स्थानीयले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेको मादी नगरपालिकाका मेयर भीम लिंथेपले जानकारी दिए ।
मृत अवस्थामा फेला पर्नेहरुमा सोही स्थान की ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वबर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेकी छन् । परिवारमा रहेका ७ जनामध्ये ९० वर्षीय बौद्धमान कार्की मात्र जीवित छन् । उनी आँखा पनि नदेख्ने र कामपनि नसुन्ने अवस्थाका रहेको बताइएको छ । तेजबहादुरका दुवैछोरा वैदेशिक रोजगारीका लागि कतार र मलेसियामा पुगेको प्रहरीले जनाएको छ । यस्तै, दुवै छोरीको विवाह भइसकेको छ ।
उनका अनुसार शव घर वरपरका छरपस्ट अवस्थामा रहेका छन् । श्रीमती र बुहारीको शव घर नजिकको खोलामा रहेको छ, भने तेजबहादुरको शव रोडमा भुँडीमा रोपेको अवस्थामा फेला परेको छ । साथै २ छोरी घर माथिको खरबारीमा मृत भेटिएका छन् भने आमा घर भित्र नै मृत रहेकी छन् । उनीहरूको हत्या कसले र किन गरयो भन्ने अझै खुलेको छैन ।

श्रीमती छेवैमा मारिँदा जसले थाहै पाएनन्
छिमेकी भवदीप कार्कीका अनुसार उनी त्यहाँ पुग्दा तेजबहादुरका ९३ वर्षीय बुबा बौद्धमान निदाइरहेका थिए । उनकी श्रीमती नजिकै लडिरहेकी थिइन्, उनको मृत्यु भइसकेको थियो । बौद्धमानलाई शव उठाएर घरका अन्य सदस्यबारे सोधीखाजी गरेको तर कोही नभेटिएको उनले जानकारी दिए । त्यसपछि हल्लाखल्ला भएपछि गाउँले जम्मा भएका थिए ।
अहिले बौद्धमान कार्की सकुशल रहेका छन् । उनले आफूले घटनाबारे केही अत्तोपत्तो नै नपाएको जानकारी दिए । उनी कान र आँखा देख्न नसक्ने अवस्थामा रहेका छन् । घटनाको प्रकृति हेर्दा लखेटी लखेटी मारेको जस्तो देखिएको छिमेकी कार्कीले जानकारी दिए । ‘खासमा जुत्ता–चप्पल बाटोमा भेटिनु आदि कारणले पनि लखेटिएको हुनसक्छ’, उनी भन्छन् ।
प्रहरी स्रोतका अनुसार ८० लाख मूल्य पर्ने जग्गा झापामा किनेको र सो जग्गा पास गर्ने सुरसारमा ती परिवार रहेको थियो । उनीहरुले केही रकम बैना समेत गरेको छिमेकीले जानकारी दिएका छन् । आर्थिक कारणले नै हत्या हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले स्रोतले जनाएको छ । उनीहरुले झापामा जग्गा किन्ने भनेपछि विदेशमा रहेकाहरुले केही रकमसमेत पठाएको छिमेकी बताउँछन् ।
‘रकम निकालेर घरमा ल्याएर राखेको भन्नेसम्म बुझ्न आएकाले हत्याको कारण आर्थिक पाटो हुनसक्ने हाम्रो प्रारम्भिक अनुसन्धान छ’ प्रहरी स्रोत भन्छ । उनीहरुको कसैसँग दुश्मनी नरहेको समेत छिमेकीहरुले बताएका छन् । उनीहरुको हत्या दुईजना भन्दा बढी समूहले हत्या गरेको हुनसक्ने समेत प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति: भाद्र २१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend