धरानः संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँँको उम्लिङमा अज्ञात समूहले विभत्स हत्या गरेका ६ जनाको धरानमा पोष्टमार्टम भएको छ ।
अहिले पोष्टमार्टम सकेर इटहरीस्थित बुढीखोलामा अन्त्येष्टी गरिएको छ । ‘धरानमा पोष्टमार्टम सकेर इटहरीस्थित बुढीखोलामा अन्त्येष्टी गरिएको छ’, छिमेकी ऋषि थापाले भने । कान्छो छोरा नरशेकुमार कार्की धरान आएपछि पोष्टमार्टमपछि अन्त्येष्टी गरिएको हो ।
मंगलबार राति ६ जनाकै शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । बीपी प्रतिष्ठानका फोरन्सिक विभागका एशोसियट प्रोफेसर डा. विकास शाह नेतृत्वको ६ जनाको टोलीले शवको पोष्टमार्टम गरेको थियो ।
पोष्टमार्टम गर्न दिनभरी लागेको थियो । पोष्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली पनि आएको थियो । सोमबार अज्ञात समूहले ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षकी गोमा कार्कीको हत्या गरेको थियो ।
मङ्गलबार फरेन्सिकसहितको प्रहरी टोलीले घटनास्थलबाट प्राप्त हुनसक्ने प्रमाणदेखि अन्य कुराहरु सङ्कलन गरिसकेको छ भने पोष्टमार्टम रिपोर्टपछि केही कुरा खुल्ने प्रहरीले बताउँदै आएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ६ जनाको एकै प्रकारले हत्या गरेको देखिएको छ । ६ जनाको नै टाउकोमा चोट देखिएको छ, प्रायः सबैको टाउकोमै प्रहार भएको देखिएको छ, कस्तो वस्तुले टाउकोमा प्रहार भएको हो भन्ने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
