धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त बनेको छ ।
अहिले चिकित्सक, नर्स, विद्यार्थी, कर्मचारी, सम्पूर्ण पेशागत हकहितका लागि सङ्गठनहरु फ्याकल्टी (मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल) लगायतको आन्दोलन जारी छ । प्रतिष्ठान शुद्धिकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिले विगत तीन महिनादेखि आन्दोलन गर्दै आएपनि समस्याको समाधान हुन सकेको छैन । अहिले पनि सरकारले आफूहरको माग तत्काल कार्यान्वयन नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन् ।
प्रतिष्ठानबाहिरै परीक्षण
चिकित्सकहरुले प्रतिष्ठान बाहिरै बसेर बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् । उनीहरुले प्रतिष्ठान बाहिरै बसेर बिरामीको परीक्षण गरेका हुन् । आन्दोलनरत सङ्घर्ष समितिले ओपीडी सेवा शुरु गरेका छन् । संघर्ष समितिले आइतबारदेखि ओपिडी सेवा बन्द गरेको थियो ।
सेवा बन्द गर्दा बिरामीले दुःख पाएकोले बिरामीको दुःख देख्न नसकेपछि परीक्षण थालिएको संघर्ष समितिको संयोजक डा. एसपी रिमालले जानकारी दिए । ‘खासमा बिरामीले दुःख पाइरहेकै हुन्’, उनले भने, ‘बाहिर बसेर पनि छाला, हाडजोर्नी, बाललगायत अधिकांश सेवा दिएका छौं ।’ संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले प्रतिष्ठान बन्द छ भनेर थाहा नहुनेहरुको उपचार गरिएको जानकारी दिए । ‘हामीले देखाउनका लागि स्वास्थ्य परीक्षण गरेका होइन, कामै गरेका हौं’, उनले भने, ‘प्रतिष्ठान बन्द छ भनेर थाहा नहुनेहरु र झुक्किएर प्रतिष्ठान आइपुगेकालाई सेवा दिएका हौं ।’ उनले सित्तैमा गरिएको उपचार पूर्ण नभएको बताए । ‘यो नै उपचार पूर्ण होइन’, उनले भने, ‘बिरामीले दुःख नपाउन् भनेरै यसो मात्रै गरिएको हो ।
कसले बेहाल बनायो प्रतिष्ठानलाई ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारी र प्रतिष्ठानका आन्दोलनरत पक्षबीच २०७८ साउन २० गते एउटा सहमति गरेको थियो । सहमतिमा प्रतिष्ठानका उपकुलपति, रेक्टर, रजिष्टार र निर्देशकलाई सातादिनभित्र हटाइसक्नुपर्नेछ तर सरकारले अहिलेसम्म उनीहरुलाई हटाउन सकेको छैन । उनीहरु अहिले पनि प्रतिष्ठानमै छन् । २०७८ भदौ ११ गते प्रतिष्ठानका रजिष्टार मोहनचन्द्र रेग्मीले भने राजीनामा दिएका छन् । अन्य व्यक्ति उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, निर्देशक डा. गौरीशंकर शाह अहिलेसम्म पदमै लिप्त छन् । उनीहरुसँग सरकारले सहमति गरेको पनि लगभग ३५ दिन पुगिसकेको छ ।
प्रतिष्ठान दक्षिण एशियामै नाम कहलिएको र प्रतिष्ठित संस्था भएपनि यहाँको बेथितिको चाङ डरलाग्दो छ । संघर्ष समितिका संयोजक डा. एसपी रिमाल भन्छन्, ‘प्रतिष्ठानको यो हालत हुनु अर्थात् थाङ्थिलो बन्नुमा राजनीति नै कारक तत्व हो ।’ उनका अनुसार राजनीतिक हिसाबले प्रतिष्ठानमा उपकुलपति नियुक्ति हुनु नै सबैभन्दा ठूलो दुर्भाग्य हो । जानकारका अनुसार यसअघि प्रतिष्ठानमा निर्देशकको व्यवस्था थियो तर जब प्रतिष्ठानमा उपकुलपति नियुक्त हुन थाल्यो, त्यो सबै राजनीतिक भागबण्डामै हुन थाल्यो ।
अहिले प्रतिष्ठान अनियमितताको दलदलमा फँसेको छ । प्रतिष्ठानका पूर्व उपकुलपति डा. बलभद्रप्रसाद दाससँग एक करोड रुपैयाँ धरौटी मागिएको छ । चार करोड अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका दासलाई एक करोड धरौटी माग गरिएको हो । विशेष अदालतले उनलाइ एक करोड रुपैयाँ धरौटी माग गरेको हो । सोमबार न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले दासलाई धरौटीमा रिहा गर्ने फैसला गरेको हो । २०७७ असार ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाससहित ८ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. दास, अस्पताल निर्देशक अरविन्दकुमार सिन्हा, रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठले प्रतिष्ठानबाट भएका खरिदमा बोलपत्रको तथ्यगत आधारविनै स्वीकृति तथा सम्झौता गरी रकम निकासा गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा जनाइएको छ । दासले चार करोड ८ लाख ९८ हजार १९ रुपैयाँ, निर्देशक सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६ सय १९, रजिष्टार थापाले एक करोड ९६ लाख ९ हजार ८ सय ८० र रजिष्टार श्रेष्ठले ५६ लाख ७७ हजार ४ सय ५ रुपैयाँ अस्वभाविकरुपमा बढी मूल्य तिरी सामान खरिद गरी प्रतिष्ठानलाई नोक्सान पु¥याएको दावी अख्तियारको थियो ।
प्रतिष्ठानलाई यहाँसम्म र यस्तो बेहाल अवस्थामा ल्याइपु¥याउनेमध्ये डा. दास प्रमुख पात्र रहेको सङ्घर्ष समितिका संयोजक डा. एसपी रिमाल बताउँछन् । ‘अहिले पनि उनको प्रतिष्ठानमा बसेर मनमौजी चलिरहेको छ, क्वाटरमै बस्छन् ।’ उनी भन्छन् ।

उनले उपकुलपति हुनका लागि ठूलै हर्कत गरेको जानकार बताउँछन् । उनले आफू उपकुलपति हुन ठूलै खर्च गरेको चर्चा अहिले पनि छ । अहिलेका उपकुलपति डा. ज्ञानेन्द्र गिरी पनि उनकै इसारामा चल्ने गरेको प्रतिष्ठान स्रोत जनाउँछ । डा. दासले दोस्रोपटक पनि उपकुलपतिका लागि आवेदन हालेका थिए । अहिले डा. गिरीको अनियमिततामाथि पनि अख्तियारले छानविन गरिरहेको छ ।
डा. दासजस्ता व्यक्ति प्रतिष्ठानको उपकुलपति बनेदेखि नै प्रतिष्ठान धरासायी बनेको चिकित्सकहरु बताउँछन् । ‘उपकुलपतिको पद पनि पैसाले बनाइयो, त्यसपछि नै प्रतिष्ठान धरासायी बनेको हो’, सङ्घर्ष समितिका सहसंयोजक पोखरेल भन्छन् ।
अहिले प्रतिष्ठानको सेवा पनि खस्किएको छ । उपचारका लागि बाहिरी अस्पतालमै रेफर गरिन्छ । ‘यति बुझ्नुहोस् प्रतिष्ठानमा राम्रो सेवा, भनेजस्तो गुणस्तरीय सेवा पाइन्छ भनेर बिरामीले कल्पना पनि नगरे हुन्छ, सिटी स्क्यान गर्न बाहिरै जानुपर्छ, कुनै कुनै रिपोर्ट त्यहाँ आएपनि भरपर्दो छैन भन्छु म ।’ उनी थप्छन् । अहिले प्रतिष्ठानका राम्रा चिकित्सक, कर्मचारी नरहेको उनी दावी गर्छन् । ‘राम्रा चिकित्सक छैनन्, कर्मचारी छैनन् कारण हो प्रतिष्ठान आर्थिक धरासायी र थाङ्थिलो समेत बनेको छ, भनेको समयमा यहाँ कसैले तलब पाउँदैन ।’
चारजनाले पनि प्रतिष्ठानलाई बेहाल बनाएनन्
चारजना पदाधिकारीहरुले मात्रै संस्था नडुबाएको र यसअघिका अन्य पदाधिकारी पनि यसको भागिदार रहेको सङ्घर्ष समितिका संयोजक डा. रिमाल बताउँछन् । ‘यी चारजनाले मात्रै डुबाएका होइनन्, यसअघिका पदाधिकारी पनि यसको भागिदार हुन्छन् ।’ उनी भन्छन् ।
उनी ढिलोचाँडो आफूहरुको आन्दोलनले मूर्त रुप लिनेमा विश्वस्त रहेको बताउँछन् । ‘हामी पूर्ण विश्वस्त छौं कि हाम्रो जायज माग पूरा हुन्छन्, ढिलोचाँडो प्रतिष्ठानका चारै पदाधिकारी कारवाहीमा पर्छन्’, उनी थप्छन्, ‘सरकारले ढिलोचाँडो उनीहरुलाई हटाउला, नयाँ नियुक्त भएर पनि आउलान् तर राजनीतिक दलकै झोलेहरु आएपनि प्रतिष्ठानको साख यस्तै रहन्छ, बेहाल नै बनिरहन्छ ।’
काम गर्ने निकाय नै सुस्त
कारवाही गर्ने निकाय अख्तियार र अदालत पनि मौन रहेको चिकित्सकहरु बताउँछन् । ‘यी कारवाही गर्ने निकाय मौन बसिदिँदा र अख्तियारमा विकृति, विसङ्गति, अनियमितताजस्ता कुराहरुको फाइलको चाङ रहेको छ’, सङ्घर्ष समितिका संयोजक रिमाल भन्छन्, ‘जुन संस्थाले फाष्ट ट्रयाकबाट काम गर्नुपर्ने हो, त्यो नहुँदा समस्या भइरहेको छ ।’
प्रतिष्ठानमा सानो सानो कुरामा पनि भ्रष्टाचार
अहिले प्रतिष्ठानका उपकुलपति डा. गिरी काठमाडौंमा बसोबास गरिरहेका छन् । उनी काठमाडौंमा कसैलाई जानकारी नदिइ हिँडेको चिकित्सकहरुले आरोप लगाएका छन् । ‘उनी कुन कामले काठमाडौं बसेका हुन्, अहिलेसम्म अत्तोपत्तो छैन,’ सङ्घर्ष समितिका सहसंयोजक डा. पोखरेल भन्छन्, ‘प्रतिष्ठानको सवारीको चरम दुरुपयोग भइरहेको छ, त्यसको हिसाबकिताब उहाँले बुझाउनुपर्दैन र ?’ उनी बिहीबारमात्रै प्रतिष्ठान आइपुगेका छन् ।
उनले प्रतिष्ठानमा सानो सानो कुरामा पनि भ्रष्टाचार भइरहने औंल्याए । ‘पेट्रोल खरिद, इन्धन खरिदलगायतमा पनि भ्रष्टाचार भइरहेको छ’, उनी थप्छन्, ‘महिनामा दुईपटक मोबिल फेर्ने, कुल्यान्ट राख्नेलगायतका काम भइरहन्छन् ।’ (हाम्रो कोशी आवाज पत्रिकामा प्रकाशित)