Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभा हत्या प्रकरण अपडेटः प्रदेश प्रहरी प्रमुखदेखि सबै प्रहरीको टोली गाउँमै

हाम्रो कोशी आवाज
भाद्र २४ २०७८, बिहिबार
संखुवासभा हत्या प्रकरण अपडेटः प्रदेश प्रहरी प्रमुखदेखि सबै प्रहरीको टोली गाउँमै

संखुवासभाः संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्या प्रकरण अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी मादी पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले घटनाको थप अध्ययनका लागि उनी घटनास्थल पुगेको जानकारी दिए ।
प्रहरीले घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको र अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको डिएसपी सुवेदीले बताए । ‘अहिलेसम्म कसैलाई पक्राउ गर्न नसकिएपनि अनुसन्धान प्रगतिउन्मुख छ’, उनले भने ।
यसअघि स्थानीयबासीले शव उठाउन दिएका थिएनन् । घटनाबारे ‘पार’ नलगाउञ्जेलसम्म प्रहरीको सबै टोली गाउँमै रहने मेयर विदुर लिंथेपलगायत प्रहरीको टोलीले नै आश्वासन दिएपछि उनीहरुले शव उठाउन दिएका थिए । शवको धरानमा पोष्टमार्टमपछि इटहरीमा सामूहिक दाहसंस्कार समेत भइसकेको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि प्रहरीले थप ‘क्लु’ भेट्टाउने जनाउँदै आएको छ ।
घटना अनुसन्धानका लागि सिआईबीको टोली पनि खोला गाउँमै छ । यस्तै, हत्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेष्टिगेशन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिब ४० जना प्रहरी घटनाको अनुसन्धानमा जुटेका छन् ।
हत्या प्रकरणमा प्रहरीले चिनेजानेकै व्यक्तिबाट उनीहरुको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनास्थलको सुक्ष्म अनुसन्धानपछि प्रहरीले यस्तो निष्कर्ष निकालेको हो । परिवारका एक सदस्यको हत्यापछि आफ्नो पहिचान खुल्ने डरले बालबालिकालगायत सबैको हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । आफ्नो पहिचान खुल्ने डरले हत्याराले सबैको हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । तेजबहादुर कार्कीको हत्यापछि परिवारका अन्य प्रत्यक्षदर्शीको पनि हत्या भएको हुनसक्ने अनुमान गरिएको हो ।
शव फेला परेको स्थान, शवको प्रकृतिलगायतका विषय हेर्दा ‘एक जनाको मात्र हत्या गर्ने उद्देश्य भए पनि परिवारका अन्य सदस्यले देखेपछि पहिचान खुल्ने डरले हत्याराले ६ जनाकै हत्या गरेको हुनसक्ने’ निष्कर्ष निकालेको हो । सबैभन्दा पहिले तेजबहादुरलाई आक्रमण गरेको हुनसक्ने देखिएको छ । सो दिन बारीमा खेताला बोलाएकाले तेजबहादुर बिहानै घरबाट निस्किएको प्रहरीको निष्कर्ष छ । तेजबहादुरको गोडामा बुट जुत्ता पनि भेटिएकाले उनी बिहानै कामका लागि निस्किएको हुनसक्ने प्रहरीको भनाइ छ । जब तेजबहादुरमाथि आक्रमण भयो, त्यसपछि उनी चिच्याएको र चिच्याएपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना दौडिँदै घटनास्थलतर्फ गएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलको प्रकृति हेर्दा उनीहरु सबैलाई लखेट्दै मारेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: भाद्र २४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend