विराटनगरः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी विपक्षी दलहरुले गरेका छन् । विपक्षी गठबन्धनले केही दिनभित्रै आचार्य विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेको जनाइएको छ ।
एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । सरकार परिवर्तनको तयारीमा पाँच दलीय गठबन्धन जुटेका छन् । प्रदेश १ मा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, संघीय लोकतान्त्रिक मञ्च मिलेर नयाँ सरकार गठन गर्न लागेका हुन् ।
प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा परेको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
एमाले विभाजन हुनलाग्दा नेताहरुलाई आफ्नो पक्षमा तान्ने प्रयासस्वरुप अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट शेरधन राईलाई हटाएर तेश्रो धारका आचार्यलाई मुख्यमन्त्री बनाएका हुन् ।
प्रदेशसभामा कुल ९३ सांसद छन् । जसका आधारमा बहुमतका लागि कम्तीमा ४६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादी पार्टीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना गरी जम्मा ५० सांसद हुन्छन् ।