ओखलढुंगाः ओखलढुंगा खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको धारिलो हरियार खुकुरी र दाउ प्रहार गरी हत्या भएको छ ।
हत्यामा संलग्न उनकै आफ्नै भाई ६७ वर्षीय शेर बहादुर तामाङ र शेरबहादुरका छोरा ३६ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।
शुक्रबार दिउँसो साढे १२ बजे हत्या भएको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोली खटी गई खुकुरीसहित हत्यामा संलग्न दुवैजनालाई हत्यामा प्रयोग भएको खुकुरी र दाउसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले अंशवण्डाको विषयमा विवाद हुँदा धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्रबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।
थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थल खटी गएको छ । स्थान जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ६० किमि पश्चिम उत्तर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।