धरानः धरानमा भौतिकरुपमा विद्यालय नखुलेको पनि धेरै भएको छ । अब धरानमा पनि विस्तारै विद्यालयहरु खोल्ने तयारी शुरु भएको छ ।
धरानमा पनि भौतिकरुपमा स्कुल खुलाउनेबारे चर्चा चल्न थालेको छ । धरानमा असोज ४ गतेदेखि विद्यालय सञ्चालनबारे छलफल चलिरहेको धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिए । ‘असोज १ गते शुक्रबार, २ गते शनिबार र ३ गते संविधान दिवसमा सार्वजनिक विदा परेकोले स्कुल सञ्चालन हुने कुरा भएन’, उनले भने, ‘असोज ४ गतेदेखि स्कुल खोल्नुपर्छ भन्ने राय आएकोे छ ।’
उनले कसरी विद्यालय सञ्चालन गर्ने भन्नेबारेमा छलफल जारी नै रहेको बताए । ‘शुरुमा ७, ८, ९, १०, ११, १२ कक्षा सञ्चालन गरौं भन्ने किसिमको राय आएको छ’, उनले भने, ‘त्यो पनि छलफलकै क्रममा छ ।’
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न संस्थागत विद्यालयका संघसंस्था (प्याब्सन, एनप्याब्सनलगायत), सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यार्थीका संघसंगठनलगायत अभिभावक समेत सरोकारवालाहरुबाट माग भएको र धरान उपमहानगरपालिका समेत सकारात्मक देखिएको उनले जानकारी दिए । ‘सबैको माग विद्यालय सञ्चालन गरौं भन्ने नै छ’, उनले थपे, ‘तर कसैको फरक विचार छ भने त्यो सुझाव पनि कलेक्सन गर्ने भनिएको छ, त्यो सुझाव सङ्कलनपछि मात्रै स्कुल खोल्ने निर्णय दिन्छौं ।’
उनले सल्लाह, सुझाव, गुनासा वा प्रतिक्रिया भए धरान उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा वा नगरप्रमुखको निजी सचिवालयमा लिखितरुपमा पेश गर्न आग्रह गरे ।
शहरी क्षेत्रका विद्यालय र शहरी क्षेत्रमा बस्ने विद्यार्थीहरुले जेनतेन अनलाइन कक्षा सञ्चालन भएपछि पठनपाठन गरिरहेका छन् । कतिपय २ सन्तानका लागि ल्यापटप वा मोबाइल, मोबाइल डाटा वा इन्टरनेटको आवश्यकता पूरा गर्न सक्ने हैसियत सबै अभिभावकसँग छैन । ‘त्यसकारण यतिका महिना विद्यार्थी भौतिकरुपमा उपस्थित नहुँदा विद्यार्थीको सिकाई उपलब्धी खस्किएको हामीले पनि महसुस गरेको हुनाले हामी पनि सकारात्मक छौं भनेका हौं ।’ उनले भने ।
कोभिड–१९ को दोस्रो लहरका कारण २०७६ सालको चैत महिनादेखि विद्यालय सञ्चालनमा आएका छैनन् । विद्यालय बन्द भएको करिब ३ महिनापछि केही विद्यालयमा अनलाइन विधिबाट पठनपाठन सुचारु भएको भए पनि अहिलेसम्म पनि कैयन् विद्यार्थीले अनलाइन कक्षा लिन पाएका छैनन् भने कैयन् शिक्षक र विद्यार्थीलाई अनलाइन कक्षाबारे जानकारीसम्म छैन ।
तर, भौतिकरुपमै विद्यालय सञ्चालनमा नआएसम्म विद्यार्थीको सिकाइमा एकरुपता आउन नसक्ने र सिकाई उपलब्धीमा धेरै नै फरक पर्ने शिक्षाविद्हरुको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि भौतिकरुपमै विद्यालय सञ्चालनका लागि उपमहानगरपालिका वा स्थानीय तहलाई अनुमति दिइसकेको अवस्था छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा विद्यालय खुलाउन अनुमति दिने निर्णय गरेको छ । सामान्य अवस्था भएमा स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि डीसिसीएमसीले अनुमति दिएको हो । उता, काठमाडौंमा पनि विद्यालय खोल्नेबारे राय, सुझाव संकलन गर्न थालिएको छ ।












