Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभा हत्या प्रकरणः आफन्त नै समातिए

हाम्रो कोशी आवाज
भाद्र २६ २०७८, शनिबार
संखुवासभा हत्या प्रकरणः आफन्त नै समातिए

संखुवासभाः संखुवासभामा ६ जनाको सामूहिक हत्याकाण्डको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी अुनसन्धान उनीविरुद्ध केन्द्रित छ ।
नियन्त्रणमा लिएका २६ वर्षीय लोकबहादुर कार्की रहेका छन् । उनी हत्या गरिएका कार्की परिवारका आफन्त हुन् । उनले आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । हत्या भएको घटना अनुसन्धानको क्रममा प्रहरीले रगत लागेको रड समेत फेला पारेको छ ।
जुन रडलाई प्रहरीले हत्यामा प्रयोग भएको ठानेको छ । घटनाको अनुसन्धानमा रहेका एक प्रहरी अधिकारीले उक्त रड मृतकहरूकै घर छेउमा फेला परेको बताए । ‘रडमा रगतको टाटा छ’, ती प्रहरी अधिकारी बताउँछन् ।
‘यो घटनामा यो युवकको संलग्नता रहेको हामीलाई ९० प्रतिशत विश्वास छ, उनले घटना घटाएको भन्ने ‘क्लु’ हरू फेला पर्दैछन्, बाँकी केही प्रमाण मात्रै फेला परेपछि हामी सार्वजनिक गर्छौं’ ती प्रहरी अधिकारीको भनाइ छ । शंकास्पद रहेको भन्दै प्रहरीले युवकलाई मंगलबारदेखि नै निगरानीमा राख्दै आएको थियो ।
घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कार्की परिवारको १३ दिने नाता पर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । प्रहरीले भने यस विषयमा केही खुल्न र खुलाउन चाहेको छैन । आइतबारसम्ममा हत्याकाण्डमा संलग्न अन्यको पनि पहिचान खुल्न सक्ने अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए । ‘लगभग यताको पाटो सिद्धिइसकेको छ’, उनले फोन सम्पर्कमा भने, ‘भोलिसम्ममा चैनपुरसम्म पुगेर चैनपुरमा पत्रकार सम्मेलन राख्ने कार्यक्रम तय भएको छ ।’ घटनाबारे विस्तृत जानकारी पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने संखुवासभा जिल्लाका डिएसपी लालध्वज सुवेदीले पनि जानकारी दिए । सङ्खुवासभाको मादीमा तेजबहादुर कार्की हित एकैपरिवारका ६ जनाको हत्या गरिएको अवस्थामा गत सोमबार बिहान शव फेला परेको थियो । ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो । यस्तै प्रहरीले शङ्कास्पद केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया अगाडि बढाएको छ । अनुसन्धान प्रक्रिया अगाडि बढाउने क्रममा मृतकहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष जोडिने आफन्त तथा छिमेकी केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया पनि सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend