Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘सजाय कम हुने भनेपछि हत्या स्वीकारे’

हाम्रो कोशी आवाज
भाद्र ३० २०७८, बुधबार
‘सजाय कम हुने भनेपछि हत्या स्वीकारे’

धरानः पूर्वको मात्रै कुरा गर्ने हो भने दुईवटा घटनाले मानसपटलमा छाप छोडेको छ । भर्खरै संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको विभत्स हत्या र २०७६ जेठ ६ गते पाँचथरको आरुबोटेमा दुई परिवारका ९ जनाको एकैरातमा विभत्स हत्या । पाँचथरको घटनाको कुरा गर्ने हो भने दुई परिवारका ८ वर्षीया बालिकादेखि ७५ वर्षीया वृद्धसम्मको हत्या भएको थियो । ७५ वर्षीय फियाकसहित उनकी श्रीमती ७५ वर्षीया पुर्चीमाया फियाक, छोरी वर्ष ३५ की मनकुमारी फियाक, मृतक बमबहादुर, नातिनी वर्ष १० की आसिकाकुमारी खजुमलाई पालैपालै धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानले देखाएको छ ।
यस्तै, ३४ वर्षीय धनराज शेर्मा, उनकी ३५ वर्षकी जस्मिता फियाक शेर्मा, छोरी १२ वर्षीय युहाना, १० वर्षीया मुना र ६ वर्षीया इच्छा शेर्माको हत्या भयो । त्यतिबेला घटनास्थलबाट केही पर कान्छा ज्वाइँ मानबहादुर माखिम झुन्डिएको अवस्थामा भेटिए । मानसिक रोगी माखिमले नै हत्या गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।
यस्तै, संखुवासभाको मादी–१ उम्लिङमा पनि यस्तै घटना भयो । त्यहाँ पनि सामूहिकरुपमा विभत्स हत्या भयो । गत सोमबार ८४ वर्षीय वृद्धादेखि ५ वर्षीया बालिकासम्मको हत्या भयो । ८४ वर्षीया पार्वती कार्की, उनको छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपीन कार्की र ५ वर्षकी गोमा कार्कीको हत्या भयो । प्रहरीले अभियुक्त लोकबहादुर कार्कीलाई सार्वजनिक गरिसकेको छ ।
यी त केही प्रतिनिधी घटना मात्र हुन् । पछिल्लो समय परिवारकै सदस्यबाट परिवारकै अन्य व्यक्तिमाथि भइरहेका यस्ता अपराध डरलाग्दो बन्दै गएको छ । प्रदेश नं. १ मात्रै नभएर देशभर नै यस्ता घटना घटिरहेका छन् । आखिर किन भइरहेको यस्तो घटना ? यस्ता विषयले अहिले गम्भीर बनाएको छ । पछिल्लो समय चर्चामा आएका यी दुई घटनाले सबैको मनमा एकखालको त्रास सिर्जना गरेको छ । अहिले परिवारकै सदस्यबाट असुरक्षित हुने दिन आइसकेछ भनेर सर्वसाधारणले भन्न थालिसकेका छन् ।
पछिल्लो समय चर्चामा रहेका यी दुई घटनाले परिवारकै सदस्यबाट आफन्तको हत्या भएको पुष्टि भइसकेको छ । अर्थात् परिवारकै सदस्यबाट परिवार असुरक्षित । किन परिवार र समाजबाटै असुरक्षित भइरहेका छन् आफन्त यो खोजी र चासोको विषय हो ।
चिर्पट हानेर हत्या
तेजबहादुर र लोकबहादुर घर करिब १०० मिटरको फरकमा रहेको पाइएको छ । बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले आक्रमण गरेका थिए । चिर्पटले हानेपछि उनले गुहार मागेका थिए । त्यसपछि तेजबहादुरकी श्रीमती कमला, बुहारी रञ्जना दौडिँदै आएका थिए । घटनास्थल पुग्दा नपुगदै उनीहरुमाथि पनि आक्रमण भयो । घरनजिकै रहेको खोला छेऊमा दुवैजनालाई पनि उनले चिर्पटले हानेका थिए ।
सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालले कमला र रञ्जनालाई पछ्याउँदै आएका विपीन र गोमालाई पनि आक्रमण गरेका थिए । त्यसपछि घरमै गएर पार्वतीको हत्या गरेका थिए । उनी कुँडोमा खोले पकाउँदै गरेको अवस्थामा लोकबहादुरले कपालमा समाती भित्तामा ठोक्काइदिएका थिए र त्यसपछि चिर्पटले प्रहार गरेको प्रहरीले जनाएको छ । ‘खासमा लोकबहादुरले तेजबहादुरलाई मात्रै मार्न चाहेको बयान दिएका छन्’, उनले भने, ‘कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साविती बयान दिएका छन् ।’
प्रहरीका अनुसार अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन् । ‘कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साविती बयान दिएका छन्’, उनले भने । तेजबहादुरका बुका ९० वर्षीय बौद्धमान कार्की भने जीवित थिए । उनले परिवारका यतिका सदस्य मारिँदा पनि थाहा पाएनन् कारण थियो, बौद्धमानको दृष्टि र श्रव्य शक्ति कमजोर नै थियो । यही कारण पनि तेजबहादुरले उनलाई त्यतिकै छाडिदिएको प्रहरीले जनाएको छ ।

यसरी परे प्रहरी फन्दामा
उनी दोस्रोदिनदेखि नै निगरानीमा थिए । शुरुमा प्रहरीले मृतक परिवारले झापामा ८० लाख रुपैयाँमा जग्गा किन्ने सुइँको पाएपछि पैसाको कारण हत्या हो कि भनेर अनुसन्धान थाल्यो । तर त्यो अनुसन्धान फेल भयो । कार्की परिवारको घरभित्र रहेको ४ लाख ७१ हजार रुपैयाँ र मृतकले लगाएका गरगहना सुरक्षित नै थिए । त्यसपछि प्रहरीले नयाँ सिराबाट अनुसन्धान थाल्यो । प्रहरीले घटना लुटपाटका लागि नभएको निष्कर्ष निकाल्यो । कुनै चिनेजानेकै व्यक्तिबाट हत्या भएको हुनसक्ने आशङ्कामा प्रहरीको अनुसन्धान अर्कैतिर सोझियो ।
त्यसपछि गाउँलेलाई केरकार र सोधपुछ गर्न थालियो । पालैपालो सोधपुछ गर्ने क्रममा लोकबहादुरको बयान फेरियो । घटनाबारे थाहा पाउने उनी नै पहिलो व्यक्ति हुँदा उनलाई सोध्दै जाँदा उनैले लगातार बयान फेर्न थाले । उनको रगत लतपतिएको भदौ २३ गतेदेखि उनीसँग प्रहरीले कुराकानी गर्न थालेको थियो । तर उनले आफ्नो संलग्नता अस्वीकार गरिरहे । उनी प्रहरीसँग कुराकानी गर्दा पनि आत्तिएका थिएनन् । उनी कन्फिडेन्सका साथ प्रहरीलाई घटनाबारे जानकारी गराइरहे । उनले घटना लुटपाटकै उद्देश्यले नै भएको भनिरहे । उनलाई घटनामा शव देखेको भनेर भाइ पर्ने कवि कार्कीलाई भनेका थिए । तेजबहादुरलाई पहिलोपटक प्रहार भएको स्थानबाटै चिच्याएर उनलाई भाइलाई बोलाएको र शव तल रहेको बताएका थिए ।
तर लोकबहादुर जुन स्थानबाट कविलाई बोलाएर शव रहेको भनेका थिए सो स्थानबाट तेजबहादुर लडिरहेको स्थानमा देख्न सकिने अवस्था थिएन । अलि तन्किएर हेरे पनि घोप्टो परेको अवस्थामा देखिएको व्यक्तिको टाउकोमात्रै देखिन्थ्यो तर त्यो शव न हो भन्ने यकिन हुनसक्ने अवस्था भने थिएन । तर पनि भाइ कविलाई उनले बडाबाकै शव हो भनेर भनेका थिए । जब प्रहरीले घटनाको अनुसन्धान गरिरह्यो । जुन स्थानमा लोकबहादुरले पहिलोपटक शव देखेको भनेका थिए, त्यही स्थानमा रगतको टाटा थियो भने त्यहाँबाट तल बाटोतिर मडारिएको अवस्थामा बुट्यान थिए । यस विषयमा उनलाई सोधपुछ गर्दा उनले भनेका कुरा म्याच खाएको थिएन ।
प्रहरी भने लोकबहादुर नै हत्यारा हो भन्ने प्रमाण जुटाइरहेको थियो । दिनभरी सोधपुछपछि केही नलागेपछि प्रहरीले उनलाई राति राति सोध्न थाल्यो । बेलाबेलामा रिसाएर कुरा गर्ने लोकबहादुर झर्किन्थे पनि । मलाई पनि सुत्न दिनुहुन्नँ तपाईहरु पनि सुत्नुहुन्नँ भनिरहन्थे । उनमाथि प्रहरीले १ बजेसम्म पनि सोधपुछ अगाडि बढाएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको घर खानतलासी गर्दा उनले लगाएको हाफपाइन्ट भेट्टायो । हाफपाइन्टमा रगतको टाटा देख्यो । लोकबहादुरलाई सोधियो– यो कसको पाइन्ट हो ? उनले सहजै उत्तर दिएर मेरो होइन । उनका भाइ कविलाई पनि पाइन्टबारे सोधपुछ गरियो । उनले दाजुको हो भनिदिए । त्यसपछि प्रहरीले सोध्दा होइन भनिरहे तर जब दाजुभाइ सँगै राखेर सोधियो, लोकबहादुरले आफ्नै भएको तर दुई वर्षदेखि नलगाएको भन्ने जवाफ दिए । त्यसपछि प्रहरीको निशाना उनीमाथि नै पर्दै गयो । उनले प्रहरीलाई प्रमाण ल्याउन चुनौती पनि दिइरहे । प्रमाणका कुरा गरेपछि उनमाथि थप निगरानी बढाइयो ।
प्रहरीले निगरानी बढाउँदै स्याटेलाइट पिक्चर निकालेपछि उनी झस्किए । उनलाई नासाबाट घटना भएको दिनदेखि बेलुकासम्मको सबै भिडियो मगाएका छौं, त्यो भिडियो आएपछि तिम्रो संलग्नता पुष्टि हुन्छ भनियो । त्यसपछि मात्रै लोकबहादुरले भिडियो देखाए म स्वीकार्छु भने । उनलाई भदौ २५ गते राति कवि कार्कीको घरमा ल्याइयो । उनले अपराध स्वीकारेका थिएनन् । त्यसपछि प्रहरीले अपराध कबुल गरे सजाय कम हुने भन्दै ‘इमोसनल मोटिभेसन’ थाल्यो । उनले भदौ २६ गते बिहान बल्ल आफ्नो संलग्नता स्वीकारे । उनले व्यक्तिगत रिसइवीका कारण नै आफूले हत्या गरेको भनेर प्रहरीसामु भन्दिए ।
किन गरे हत्या ?
रिसीइवी, आवेग, कुण्ठा आदिका कारण हत्याको रहस्य खुल्न आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी सुवेदी भन्छन्, ‘हत्याको कारण रिसइवी, आवेग, कुण्ठा आदि कारण नै भन्ने खुलेको छ ।’
आफूलाई हेप्ने, गाली गर्ने र सापटी लिएको ब्याजको कुराले आफू रुष्ट रहेको र मनमा पनि त्यही कुरा गढेकोले हत्या गरेको भन्दै बयानमा भनेका थिए । तेजबहादुरका दुई छोरा विदेशमा थिए । लोकबहादुरलाई आफू विदेश पुग्न नसकेकोमा हिनताबोध थियो । स्थानीयका अनुसार तेजबहादुरमा अरुलाई हेप्ने प्रवृत्ति थियो । जुन कुरा लोकबहादुरले पनि मन पाएका थिएनन् । ६ वर्षअघि मलेसिया गएपनि १० महिना विदेश जाँदाको ऋणसमेत नतिरी फर्किएका लोकबहादुर, त्यसपछि उनी पुनः कतार पुगे तर त्यहाँबाट पनि ९ महिना नपुग्दै फर्किएका थिए । गाउँकै युवतीसँग प्रेममा परेका उनी युवतीले अर्कैतिर विवाह गरेपछि झनै विक्षिप्त बनेका थिए भने आमाको समेत केही वर्षअघि मृत्यु भएको थियो । आफूलाई विदेश जाँदा होस् वा अन्यतिर जाँदा पैसा दिइरहने हजुरबुबाको समेत मृत्यु भइसकेपछि उनी विक्षिप्त नै थिए । अहिले ‘ठीकै’ अवस्थामा उनी खेतीपातीमा व्यस्त थिए ।
प्रहरीका अनुसार उनले शुरुमा तेजबहादुरलाई मात्रै ‘तार्गेट’ बनाएका थिए । प्रहरी अनुसन्धान भन्छ– रिस र टार्गेट भनेको तेजबहादुर मात्रै थिए तर मैले आक्रमण गरेको सबैले देखेपछि सबैमाथि प्रहार भएको हो, अरुले देखेको भए, अरुलाई पनि हान्थें ।’ (हाम्रो कोशी आवाज पत्रिकामा प्रकाशित)

प्रकाशित मिति: भाद्र ३० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend