धरानः सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहाल अपराध मामिलामा विज्ञ मानिन्छन् । पूर्वमा स्थानीय ‘इस्यु’ त धेरै छन् । तर पनि राष्ट्रिय ‘इस्यु’ बनेका दुई घटना नियालेका उनले समाज डरलाग्दो अवस्थामा अघि बढेको बताउँछन् ।
२०७६ जेठ ६ गते पाँचथरको आरुबोटेमा दुई परिवारका ९ जनाको एकैरातमा विभत्स हत्या भयो । पाँचथरको घटनाको कुरा गर्ने हो भने दुई परिवारका ८ वर्षीया बालिकादेखि ७५ वर्षीया वृद्धसम्मको हत्या भएको थियो । ७५ वर्षीय फियाकसहित उनकी श्रीमती ७५ वर्षीया पुर्चीमाया फियाक, छोरी वर्ष ३५ की मनकुमारी फियाक, मृतक बमबहादुर, नातिनी वर्ष १० की आसिकाकुमारी खजुमलाई पालैपालै धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानले देखाएको छ । यस्तै, ३४ वर्षीय धनराज शेर्मा, उनकी ३५ वर्षकी जस्मिता फियाक शेर्मा, छोरी १२ वर्षीय युहाना, १० वर्षीया मुना र ६ वर्षीया इच्छा शेर्माको हत्या भयो । त्यतिबेला घटनास्थलबाट केही पर कान्छा ज्वाइँ मानबहादुर माखिम झुन्डिएको अवस्थामा भेटिए । मानसिक रोगी माखिमले नै हत्या गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।
गत २१ गते सोमबार संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको विभत्स हत्या भयो । सो घटना नियालेर फर्किएका उनको बुझाइमा अपराधको जालो नेपाली समाजमा डरलाग्दोरुपमा फैलिँदै गएको छ । अपराधको घटनाहरु समाजबाटै हुने भएकाले त्यस्ता खालका घटनामा समाजको सहयोग अति आवश्यक रहेको उनी बताउँछन् । भन्छन्, ‘पारिवारिक हत्या डरलाग्दो विषय हो, यसको कारण समाजमै खोजिनुपर्छ, विस्तृत अध्ययन आवश्यक छ ।’
उनले नकारात्मक मनोविज्ञानले नै अपराध जन्माउने बताउँछन् । भन्छन्, ‘यसका लागि राज्य, समाज सबै जिम्मेवार बनेर अघि बढ्नुको विकल्प छैन । कुनै व्यक्तिमा अवसरभन्दा चुनौती र समस्या बढी देख्ने अवस्थामा उसमा आउने निराशाले नकारात्मक मनोविज्ञान जन्माइरहेको हुन्छ ।’
समाजमा व्यक्तिगत स्वार्थले गाँज्दै गएको र व्यक्तिगत स्वार्थ बढी हावी हुँदा समाज बिग्रिँदै गएको उनको भनाइ छ । समाजमा अस्वस्थ प्रतिस्पर्धा बढ्दो छ । कोभन्दा को कमको भावनाको विकास भइरहेको छ । ‘स्वस्थ प्रतिस्पर्धा भएन’, उनी भन्छन्, ‘अस्वस्थ प्रतिस्पर्धाले नै समाज बिग्रिँदै गएको छ, आफू केन्द्रित हुने, आफैले मात्रै लाभ लिने, अरुलाई लडाएपछि मात्रै म माथि जान्छु भन्ने भावनाको विकास भइरहेको छ ।’
सामाजिक वनावट, जीवनशैलीमा परिवर्तन, दैनिकी, समाजको प्रवृत्ति, प्रविधिको विकास, अनुशासनहीनता, वैदेशिक रोजगार, लागूऔषध, मदिराको प्रयोग, राजनीति र व्यवस्थाप्रतिको निराशा आदि कारणले हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराध बढिरहेको उनको तर्क छ । ‘समाजमा अनुशासन भएन, सामाजिक र नैतिक शिक्षा भन्ने कुरा हराउँदै जानु दुःखद् हो’, उनी थप्छन् ।
उनी समाज अहिले छाडा प्रवृत्तितिर धकेलिएको पनि बताउँछन् । ‘एकले अर्कालाई नगन्ने प्रवृत्ति हावी भइरहेको छ, अवसर कम छ, मानिसमा महत्वकांक्षा ज्यादा छ’, उनी भन्छन्, ‘यस्ता कुराले समाज बिग्रिरहेको छ ।’ उनले यसका लागि नैतिक, सामाजिक शिक्षा साथै अन्य आपराधिक घटनाबारे सचेतना अभियान चलाउन सकिने बताए । ‘नसकिने होइन सकिन्छ, यसका लागि व्यक्ति, परिवार, समाज र राज्य नै लाग्नुपर्छ ।’ (हाम्रो कोशी आवाज पत्रिकामा प्रकाशित)