खोटाङः खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ बतासेका प्रसाद राई सम्पर्कविहीन भएको ५२ वर्षपछि घर आइपुगेका छन् ।
२०२७ साल वैशाखमा उदयपुरको बलम्तामा रहेको मावली घर जाने भन्दै हिँडेपछि भारतको नागाल्यान्ड पुगेका प्रसाद लामो समयपछि घर आइपुगका हुन् । २१ वर्षको उमेरमा घरबाट हिँडेका राई ७३ वर्षको उमेरपछि घर आइपुगेको आफन्त विशाल राईले जानकारी दिए ।
घरको सम्पर्कबाहिर रहेका प्रसाद ‘जिउँदै छन् वा छैनन्’ भन्नेबारे आफन्तलाई नै थाहा थिएन । नागाल्यान्डबाट नेपाल प्रवेश गरेका प्रसाद इटहरी–उदयपुरको कटारी–घुर्मी–जयराम–हलेसी–दिक्तेल हुँदै गाउँ पुगेका थिए ।
माया मारिसकेको अवस्थामा प्रसाद घर आइपुगेपछि आफन्त खुसी भएका छन् । उनी अहिले बुढेसकालले छोपिसकेका साथीभाइसँग खुसी साटिरहेका छन् ।
भान्जा नाता पर्नेसँग इटहरीसम्म सँगै जानुभएका प्रसाद त्यहीँबाट सम्पर्कविहीन भएका थिए । इटहरीबाट भान्जा नाता पर्ने व्यक्ति गाउँ फर्कँदा प्रसाद भने भारत छिरिसकेको खबर आएको थियो । प्रसाद परिवारका एक्लो छोरा हुन् । परिवारमा जेठो सन्तानका रूपमा जन्मिएका छोरा बेपत्ता हुँदा आमाबुबालाई पर्नुसम्म चोट परेको थियो । प्रसादले घर छाड्दा घरमा आमाबुवा थिए । घरमा ६ स–साना बहिनी थिए । ५२ वर्षपछि फर्कँदा घर रित्तो बनिसकेको थियो । उनीका आमाबुबाको निधन भएको वर्षाैँ बितिसकेको छ । बहिनीहरु विवाह गरेर आ–आफ्नो सुतीखेतीमा छन् । प्रसाद ज्याला मजदुरीको काम गर्दै नागाल्यान्डमा बसेको बताइएको छ ।