धरानः संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य ४ जनालाई अनुसन्धानमा तानिएको छ ।
एकैपरिवारका ६ जनाको हत्या भएको सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि ४ जनालाई तानिएको प्रहरी स्रोतले जनाएको छ । घटनाबारे थप प्रमाण (क्लू) फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेको जनाइएको छ ।
घटनास्थलमा रहेका एसपी दाहालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । ‘यसअघि पनि केही प्रहरी घटनास्थलमै अनुसन्धानरत थिए, त्यसपछि केही ‘क्लू’ भेटेपछि हामी यहाँ आएका छौं, अनुसन्धान गरिरहेका छौं, थप केही व्यक्तिहरु धमाधम नियन्त्रणमा लिएर सोधपुछलगायत अनुसन्धानका काम भइरहेकै हो ।’
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले अन्य व्यक्तिको समेत संलग्नता भएको आशङकामा अनुसन्धान शुरु गरेको जानकारी दिए । प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि शनिबार इलाका प्रहरी कार्यालय चैनपुर ल्याएको छ । नियन्त्रणका लिएकाहरु मृतक तेजबहादुरका छिमेकी हुन् । तर, नियन्त्रणमा लिएकाहरूका नाम भने खुलाइएको छैन ।
उनका अनुसार सो घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । नियन्त्रणमा लिएको अन्य ६ जनामाथि प्रहरीले अनुसन्धानका लागि सोधपुछलगायतको काम थालेको उनले जानकारी दिए ।
मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रमा पुगेको प्रवक्ता राईको भनाइ छ । रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । सो मोबाइल लोकबहादुरको घरमा फेला पारेको थियो ।
स्रोतका अनुसार घटनामा लोकबहादुरको मात्रै संलग्नता नभएर अन्य व्यक्तिको पनि संलग्नता खुल्ने केही तथ्य र प्रमाण भेटिएको प्रहरीको दावी छ । शवको पोष्टमार्टम रिपोर्टमा मृतक रञ्जना र रञ्जनाकी सासु कमलामाथि धारिलो हतियारको प्रयोग भएको रिपोर्ट आएको प्रहरीले जनाएको छ । संखुवासभाका डिएसपी लालध्वज सुवेदीले रञ्जना र कमलाको पोष्टमार्टम रिपोर्टमा धारिलो हतियारको प्रयोग भएका रिपोर्ट आएको जानकारी दिए । ‘रञ्जना र कमलाको घाँटी लगायतका भागमा धारिलो हतियारले आक्रमण गरेको पोष्टमार्टम रिपोर्ट आएपछि नै प्रहरीले त्यो हतियार खोजिरहेको थियो’, प्रहरी स्रोत भन्छ ।
उता लोकबहादुरले चिर्पटको मात्रै प्रयोग गरेको जनाएका थिए । घटनाको दिनदेखि हराइरहेको रञ्जनाको मोबाइल फोन भदौ २९ गते अन भएपछि प्रहरीले लोकबहादुरका भाइ नरेश कार्कीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । नरेशले भने मोबाइल घरमै भेटाएर चलाएको बयान दिएका छन् । नरेश र लोकबहादुरकै बयानका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । ‘हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य माथिसमेत प्रहरीले अनुसन्धान थालेको हो’, प्रवक्ता राईले भने ।
गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।