संखुवासभाः प्रहरीले संखुवासभा हत्याकाण्डमा संलग्न थप चारजनालाई सार्वजनिक गरेको छ ।
लोकबहादुरका भाइसहित थप ४ जना पक्राउ गरी सार्वजनिक गरेको हो । संखुवासभाको मादी नगरपालिकामा वडा नम्बर १ खोलागाउँमा एकैपरिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार सहित अन्यलाई सार्वजनिक गरेको हो । ४७ वर्षीय खड्गबहादुर कार्की घटनाका मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर काकी र १७ वर्षीय नरेश कार्की रहेको प्रहरीले जनाएको छ ।
हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेपछि अन्य कुरा खुल्दै गएको हो । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
हत्यापछि दोस्रोपटक संखुवासभा पुगेका सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालले घटना योजनाबद्ध ढङ्गले भएको र ५ जनाको समूहले घटनाको पाइएको जानकारी दिए । अभियुक्त लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो राति ८ बजे योजनाकार खड्गबहादुर कार्कीसहित हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत बसी बनाएको पाइएको उनले जानकारी दिए । ‘शुरुमा तेजबहादुर र कमलाको हत्या गर्ने र अन्यले चाल पाए भने उनीहरुको पनि हत्या गर्ने नियत देखिएको छ’, उनले थपे, ‘अनुकुल मिले धनमाल समेत लाने योजना रहेको पाइएको छ ।’ घटनाका बारेमा अन्य कसैले केही नभन्ने र लोकबहादुरले डिप्रेसनको औषधि खाइरहेको कारण उसैले जिम्मा लिने योजना बनाएको पाइएको छ । लोकबहादुर मानसिक रोगी रहेको भन्दै उनलाई धेरै कारबाही नहुने भन्दै लोकबहादुरले घटनाको जिम्मा लिएका थिए र सुरुमा घटनामा आफ्नो मात्रै संलग्नता रहेको बताएका थिए । पछिप्रहरीले अनुसन्धान गर्दै जाँदा र केरकार अगाडि बढाएपछि लोकबहादुर पक्राउ परेपछि मात्रै हत्याको योजना र प्लानबारे प्रहरीसमक्ष खोलेका थिए ।

