विराटनगरः इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक योगराज खतिवडा र इलाका प्रहरी कार्यालय दोभान, ताप्लेजुङ दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर शाखामा कार्यरत प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्का भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् ।
उनले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी एकै परिवारका ६ जनाको विभत्स ढंगले सामूहिक हत्या गरी लुकिछिपी बसेका अपराधमा संलग्न व्यक्तिहरुलाई अनुसन्धान तथा पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । ‘उहाँहरु अहिले पनि घटनास्थलमै हुनुहुन्छ, यस घटनाको अभियुक्त समात्न उहाँहरुको पनि ठूलो भूमिका छ, त्यही भएर उहाँहरुलाइृ सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।’ उनले फोन सम्पर्कमा भने ।
नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक योगराज खतिवडा र इलाका प्रहरी कार्यालय दोभान, ताप्लेजुङ दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर शाखामा कार्यरत प्रहरी नायव निरीक्षक रुद्र बहादुर खडकालाई उनीहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङकन गर्दै २०७८ साल भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको उनले जानकारी दिए ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेशअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिँदै आइएको उनले जानकारी दिए ।
