Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

श्रीमान विदेशमा, यता श्रीमतीको मृत्यु !

हाम्रो कोशी आवाज
असोज ४ २०७८, सोमबार
श्रीमान विदेशमा, यता श्रीमतीको मृत्यु !

धरानः मोरङको सुन्दरहरैंचा–९ मा एक युवती मृत भेटिएकी छिन् । स्थानीय २४ वर्षीया रोजिना गिरी (काफ्ले) मृत भेटिएकी हुन् ।
आइतबार बिहान लोबेडमा घोप्टो परेको अवस्थामा शव फेला परेपछि परिवारले घटना रहस्यमय रहेको भनेका छन् । घाँटीमा सल बाँधिएको अवस्थामा रोजिनाको शव फेला परेको र शरीरमा पनि निलडाम भएकोले मृतकका माइती पक्षले हत्या गरेको आरोप लगाएका छन् । उनीहरुले कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै आएका छन् ।
उनको अहिले शव धरानस्थित बीपी प्रतिष्ठानको मर्चरीमा राखिएको छ । अनुहार निलो रहेको, मुखबाट ब्लड गएको, कम्मर र खुट्टामा दाग देखिएको प्रहरीसँगै शव हेर्न पुगेकी छिमेकी गीतादेवी अधिकारी पौडेलले जानकारी दिइन् । विवाह भएको लगभग १५ महिना भएको उनले जानकारी दिइन् । उनीहरूको प्रेम सम्बन्धपछि विवाह भएको थियो । रोजिनालाई विनोद काफ्लेले विवाह गरेपछि करिब ६ महिनाअगाडि वैदेशिक रोजगारका लागि विदेशमा छन् ।
धरानमा भेटिएकी मृतककी आमा इन्दिरा गिरीका अनुसार आफूहरु नआइकन शव उठाइसकिएको र शवको प्रकृति हेर्दा हत्या गरिएकोजस्तो देखिएकोले आफूहरुलाई शंका लागेको उनले जानकारी दिइन् । ‘चुकुल लगाएको अवस्थामा उनी भित्र आत्महत्या गरिएको भनिएको छ, तर हामी नआइ वडाध्यक्ष र प्रहरीको रोहवरमा हामी नआइकन उठाइएछ, हामीले केही हेर्न नै पाएनौं तर अहिले आएर शव हेर्दा खुट्टा र कम्मरमा दाग, अनुहारमा दाग, मुखबाट ब्लड गएकोले हामीले शंका गर्दै आएका छौं ।’

धरानमा पोष्टमार्टमका लागि शव ल्याइँदा पाँचघण्टा पर्खिदा पनि उतापट्टिका कोही उपस्थित नभएपछि भोलि पोष्टमार्टम गर्नेगरी आफूहरु फर्किएको मृतककी आमा इन्दिराले बताइन् । ‘खासमा आफ्नो परिवार मर्दा पोष्टमार्टमका लागि यहाँसम्म आउनुपर्छ कि पर्दैन ? पाँचघण्टा पर्खियौं तर नआएपछि हामी फर्कियौं’, उनले भनिन्, ‘भोलि विदेशबाट ज्वाइँ आएपछि पोष्टमार्टम गर्ने निर्णय भयो ।’
बाबु धर्मनन्द उनले छोरीको शंकास्पद अवस्थामा शव फेला परेकोले घटना रहस्यमय रहेको र षडयन्त्र गरी मारेको दावी गर्दै भने, ‘हामीलाई चलखेल होला कि भन्ने पनि आशंका छ, जे छ, त्यो सत्य बाहिर आउनुपर्छ ।’ कुटपिटबाट मारेर हत्या गरिएको उनले दावी गरे । ‘हत्या गरेपछि आत्महत्या देखाउन झुण्डयाएको हुनसक्छ,’ उनले आशंका गर्दै भने, ‘यस घटनामा परिवारका सदस्यलाई नियन्त्रणमा लिएर प्रहरीले अनुुसन्धान सुरू गरिनुपर्दछ ।’
रोजिनाको माइती उर्लाबारीस्थित दुर्गापुरी हो । उनीहरूले इलाका प्रहरी कार्यालय बेलबारीमा पुगेर जाहेरी दिने तयारी गरिएको बताएका छन् । यता शवको प्रकृति हेरेर फर्किएका धरान-१६ का वडाध्यक्ष दिलकुमार गिरीले कुटपिटबाटै मारिएको दावी गरे । ‘निलडाम, चोटपटक हेर्दा आत्महत्या नभई हत्या भएको देखिन्छ ।’ उनले भने ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालले पोष्टमार्टमका लागि धरानस्थित बीपी प्रतिष्ठान पठाइएको र रिपोर्ट आएपछि घटनाबारे जानकारी विस्तृत खुल्ने र अनुसन्धान थालिने जानकारी दिए । ‘शवको प्रकृति हेर्दा आत्महत्याजस्तै देखिन्छ’, उनले भने, ‘कोठामा भित्रबाट चुकुल लगाएर लोबेडमा घोप्टो परेको अवस्थामा मृत भेटिएको, शरीर लोबेडमा रहेको भएपनि फेनमा सल बाँधिएको र कोठाको चुक्कुल भित्रबाट लगाएको पाइएकाले आत्महत्या हो कि भन्ने हाम्रो अनुमान मात्रै हो, पोष्टमार्टम रिपोर्टले सबै खुलिहाल्छ ।’
माइती पक्षले घटनाको अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग राख्दै परिवारका तीनजना सदस्यविरूद्ध किटानी जाहेरी पनि दिने तयारी गरेका छन् ।

प्रकाशित मिति: असोज ४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend