धरानः संखुवासभाको मादी नगरपालिका-१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा सबैको संलग्नता र योजनाबद्ध हत्या भएको नयाँ घटना सार्वजनिक भएको छ ।
गत भदौ २१ गते बिहान ५ः२० बजे हत्या गर्न शुरुवात गरिएको र ५ः४० सम्ममा सबै जनाको हत्या गरिएको प्रहरीको अनुसन्धानले देखाएको अनुसन्धानमा संलग्न एसपी भीम दाहालले जानकारी दिए ।
भदौ २७ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेर उनी एक्लैले हत्या गरेको जीकिर गर्दै आएको थियो । तर अहिले पाँचजना मिलेरै हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार सबैको योजनामा, सबै मिलेर नै हत्या गरिएको पाइएको छ ।
शुरुमा ५५ वर्षका तेजबहादुर कार्कीलाई लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की र छोरा हस्तबहादुर मिलेर हत्या गरेको पाइएको उनले जानकारी दिए । घटनाको दिन मृतकको पिप्लेस्थित खेतमा अभियुक्तहरू खड्गबहादुर, हस्तबहादुर कार्की, लोकबहादुर र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक तेजकुमार कार्की बिहान आउने निश्चित गर्न खड्गबहादुर बिहान ५ बजे तेजकुमारको घरमा गई ‘लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नु’ भनी तेजकुमारलाई लोकबहादुर कार्कीको घरतर्फ जान अभिप्रेरित गरेको र घरतर्फ फर्केको, तेजकुमारको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर निजको घर पछाडि चिर्पट बोकी तयारी अवस्थामा बसेका थिए ।
घरवाट फर्केने क्रममा योजनाअनुसार लोकबहादुरले भाई नरेशलाई इसारा गरी आफूले दाउराको चिर्पट र अलैंची काट्ने चक्कु बोकेर गोगनेको रूखनजिक तेजकुमारको टाउकोमा प्रहार गरी लडाएको र त्यसपछि चिर्पटले हानेपछि हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाउँदै बाटोमा झरेपछि हत्या गरी घोप्टो पारिदिएका थिए ।
तेजबहादुरलाई चिर्पटले हिर्काएको देखेर दौडिँदै आएका पत्नी कमला र बुहारी रञ्जनालाई हत्या गरेर लोकबहादुरको समूह दुई नाबालकलाई हत्या गर्न कुदेका थिए । घटनाको बेला मृतकले ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै गरेको हारगुहार सुनेपछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेज वहादुरको श्रीमती र बुहारी आइपुगेका थिए । लोकबहादुरले कमलालाई प्रहार गरेको, कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जना नरेशले ठेली खोल्सामा झारेको र खडकबहादुर, लोकबहादुर र हस्तबहादुर मिलेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । मृतक रञ्जनाको शव रणबहादुर र नरेश समेतले कमलाको लास भएको स्थानसम्म पुरयाउन सहयोग गरेको प्रहरीको भनाइ छ ।
रञ्जनाका छोरा ८ वर्षका विपिन कार्की र ५ वर्षकी छोरी गोमा घरनजिक बाटोमा निस्किएको र लोकबहादुर र उनका दाई (काकाको छोरा) हस्तबहादुर मिलेर विपिन र गोमाको बाटोमा छेकेका थिए । अनि, मुख थुने । चिर्पटले हिर्काएर हत्या गरेका थिए । चिर्पटले हिर्काएपछि घाँटी बटारेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घरमा ८४ वर्षीया पार्वती कार्की मकै नङ्ग्याइरहेको अवस्थामा उनलाई हस्तबहादुरले घर पछाडिको गोठमा लगेर टाउको भित्तामा ठोक्काइदिएका थिए ।

कसरी पुग्यो प्रहरी त्यहाँसम्म ?
प्रहरीले यसअघि लोकबहादुर कार्कीलाई मात्रै पक्राउ गरेको थियो । सोमबार अर्थात् असोज ३ गते पक्राउ पर्नेहरुमा ४७ वर्षीय खड्गबहादुर कार्की, उनका २८ वर्षीय छोरा हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादर कार्की र १७ वर्षीय नरेश कार्की रहेका छन् । नरेश र रणबहादुर कार्की यसअघि प्रहरीले अभियुक्त भनिएका लोकबहादुरका भाइ र बाबु हुन् । ६ जनाको हत्या प्रकरणमा अब पाँचजनाको संलग्नता देखिएको प्रहरीको दावी छ ।
लोकबहादुरलाई सार्वजनिक गरिरहँदा पनि प्रहरीले भनेको थियो– अझै अनुसन्धान जारी भएकाले पछि खुल्दै जानेछ । एसपी दाहाल भन्छन्, ‘अन्य मान्छे उम्किने, भाग्ने हुनाले पनि हामीले अनुसन्धान सकियो पारामा एउटा व्यक्ति जो लोकबहादुरलाई देखाइरह्यौं, अनुसन्धान गर्दै गएपछि, उनीमाथि बढी केरकार, रञ्जनाको मोबाइल आदिका खोजी हुन थालेपछि थप अनुसन्धानमा अघि बढेको हो ।’
त्यसपछि घटनास्थलमा मारिएकी रञ्जनाले प्रयोग गर्दै आएको मोबाइल भाइ नरेशको साथमा फेला परेको प्रहरीको दाबी छ । त्यही ‘क्लू’ लाई पछ्याउँदै जाँदा उनीहरुको संलग्नता खुलेको र उनीहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको प्रहरीले जनाएको छ । प्रहरीले लोकबहादुरको थप बयान, मोबाइल, अनुसन्धानमा तानिसकेपछि उनीहरूको साबिती बयान र हत्याका बखत लगाइएको लुगा कपडालाई आधार मानेर उनीहरु पक्राउ पर्न सफल भएको एसपी दाहालले बताए ।
शुरुमा पक्राउ परेका लोकबहादुरले अरुलाई बचाउनकै लागि जोगाएको र अन्यको नाम खुलाउन नचाहेको पाइएको प्रहरीले जनाएको छ । ‘धेरै केरकारपछि घटनाले नयाँ मोड लिएको हो’, घटनामा अनुसन्धानमा जुटेका एसपी दाहाल भन्छन्, ‘तर योचाहिँ फिक्स हो, सबै मिलेरै हत्या योजना बनाउने र सबै मिलेरै हत्या गरेको देखिएको छ ।’
प्रहरीद्वारा जारी विज्ञप्तिमा समेत भनिएको छ, ‘घटना योजनावद्ध ढंगबाट पाँचजनाको समूहले घटाएको, जुन योजना लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीसमेत बसी बनाएको…।’ प्रहरी आई पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधि पनि खाने कारण उनले नै जिम्मा लिने सरसल्लाह भएपछि घटना घटाइएको प्रहरीले जनाएको छ ।
