धरानः धरान, विराटनगर र काकडभिट्टाका लागि बुलेट बस सञ्चालनमा आएको छ ।
शौचालयको सुविधा बसभित्रै छ । बुलेट एसी प्रालिले देशभरका सात सहरका लागि काठमाडौंदेखि यो बस सञ्चालन गर्ने भएको हो ।
बसको भाडा दशैंको अवसरमा १५०० मात्रै छ । भाइकिङ बस भएका कारण यस बुलेट एसी बसको सिट क्षमता ३९ रहेको छ । यसका सवार यात्रुका लागि कम्पनीले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउनेछ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ ।
किट उपलब्ध गराएबापत यात्रुले छुट्टै रकम बुझाउनुपर्नेछैन । किटमा पानी, ग्लोब्स, मास्क र केही रुघाखोकी लाग्दा सेवन गर्ने औषधिहरु समावेश गरिनेछ ।
सरोज न्यौपाने र उमेश खड्कालगायतले यो बुलेट बस प्रा.लि.मार्फत सातवटा बस सञ्चालनमा ल्याएका हुन् । १० करोड ५० लाखको लागतमा सञ्चालनमा ल्याइएको बुलेट बसमा हवाइजहाजको जतिकै सुविधा रहेको दावी गरिएको छ । बुलेट बसमा यात्रा गर्दा हवाई जहाज चढेजस्तै महसुस हुने र सुबिधा पनि उस्तै रहेको दाबी कम्पनीको छ । बुलेट बस सञ्चालक समूहले २७ सिटर बस २–१ सोफा लक्जरी सिटसहितको बसहरु सञ्चालनको तयारी समेत गरेको छ ।
