Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा केही स्कुल खुले

हाम्रो कोशी आवाज
असोज ५ २०७८, मंगलबार
धरानमा केही स्कुल खुले

धरानः धरान उपमहानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरुले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरेपछि उपमहानगरपालिकाले अनुगमन नै गरेको छ ।
मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरुमा अनुगमन गर्दा उपमहानगरपालिकाको निर्देशनविपरीत भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको शिक्षा शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिए ।
धरान उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा अधिकृत मनोज भट्टराई, नगर प्रमुखका स्वकीय सचिव राजेशमान श्रेष्ठ, बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, नगर प्रहरी निरीक्षक विष्णु कोइरालासहितको टोली निजी विद्यालय तथा कलेज अनुगमन गर्न गएका थिए ।
मेयर तिलक राईको अध्यक्षतामा गएको भदौ ३१ गते बसेको कार्यपालिकाको बैठकले धरानमा कोरोना महामारी अझै नियन्त्रण हुन नसकेको भन्दै दशैं–तिहारपछि मात्र विद्यालय तथा कलेजहरु खुलाउने निर्णय गरेको थियो ।
अधिकृत भट्टराईले धरानका केही निजी स्कुल तथा कलेजहरुमा गएर अनुगमन गरिएको जानकारी दिए । ‘अनुगमनलाई निरन्तरता दिनेछौं, भोलि पनि अनुगमनमा जान्छौं, कडाइका साथ अनुगमन गर्छौ, नगरपालिकाको निर्देशनविपरीत विद्यालय तथा कलेजहरुमा पठनपाठन भइरहेको पाइएमा कारबाही पनि गर्छौ,’ अधिकृत भट्टराईले बताए । उनले कस्तो कारवाही हुन्छ भन्ने विषयमा भने केही खुलाएनन् ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले पुनः विज्ञप्ति समेत जारी गर्दै भौतिकरुपमा पठनपाठन नगर्न अनुरोध गरेको छ । धरानका कतिपय विद्यालयहरुले भौतिकरुपमा नै विद्यालय सञ्चालन गरिरहेका, अभिभावक तथा विद्यार्थीहरुलाई सूचना गरी विद्यालयमा बोलाउने गरेको गुनासाहरु नगरपालिकामा आएका कारण तत्काल भौतिकरुपमा पठनपाठन बन्द गरी वैकल्पिक प्रणालीबाट विद्यार्थीहरुको सिकाइ सहजीकरणलाई निरन्तर अगाडि बढाउन विज्ञप्तिमार्फत् निर्देशन दिइएको छ ।
उता प्याब्सन, एनप्याब्सन तथा हिसानले भने स्कुल लगाउनुपर्छ भनेपछि आफूहरु विद्यालय लगाउन तयारी अवस्थामा बसेको तर उपमहानगरपालिकाको गलत निर्णयले आफूहरु मारमा परेको बताउँदै आएका छन् । गत भदौ २५ गते उपमहानगरपालिकाले सुझाव माग गरेको थियो । त्यही अनुसार आफूहरु तयारीमा बसेको प्याब्सन धरानका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए । उनले उपमहानगरपालिकाको गलत निर्णयले केही स्कुल लागेको समेत धारणा राखे ।
गत भदौ ३० गते अभिभावक संघका तीनजना पदाधिकारी अध्यक्ष, सचिव, सहसचिव पुगेर विद्यालय लगाउन हुँदैन भनेर भनेपछि राजनीतिक आस्थाका आधारमा विद्यालय लगाउन हुँदैन भनेर निर्णय भएको र आफूहरुलाई चित्त नबुझेको उनले जानकारी दिए । ‘खासमा भन्ने हो भने म स्कुलको प्रिन्सिपल, हाम्रा स्कुलका सबै अभिभावकहरु स्कुल लगाउनुपर्छ भनेर दबाव दिइरहनुभएको छ, तर कस्तो अभिभावक पुगेर त्यहाँ दबाव दिएको हो हामीलाई थाहा भएन, शैक्षिक हब बनाउनुपर्छ भनेर लागेको उपमहानगरपालिकाबाट गलत निर्णय गरियो भन्ने हाम्रो बुझाइ हो ।’ उनले उपमहानगरपालिकालाई पुनर्विचारका लागि ज्ञापनपत्र समेत बुझाइसकेको जानकारी दिए । उनीहरुले धनकुटा, इनरुवालगायतको स्थानमा स्कुल खुलिसकेको पनि बताउँछन् ।
एनप्याब्सन धरान नगरका अध्यक्ष भगत लिम्बूले अभिभावककै मर्जीमा स्कुल खोल्न लागिएको तर उपमहानगरपालिकाको निर्णयले रोकिएको बताए । उपमहानगरपालिकाले गरेको निर्णयले आफूहरु अचम्मित बनेको उनको भनाइ छ । उनीहरुले राजनीतिक घुसेपछि स्कुल नलागेको पनि भन्दै आएका छन् । यस्तै, मङ्गलबार धरानमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भेला आयोजना भएको थियो । स्कुल लगाउनुपर्छ भनेर लागिपरेका उनीहरु उपमहानगरपालिका अनुगमनमा निस्कियो भनेपछि निचोडमै नपुगी भेला सकिएको एक प्रधानाध्यापकले जानकारी दिए । ‘हामी सबै भौतिकरुपमै स्कुल लगाउनुपर्छ भनेर लागेका थियौं तर अनुगमनलगायतको काम हुन थालेपछि केही निर्णय नगरी भेला सकियो’, सामुदायिक स्कुलका एक प्रधानाध्यापकले भने, ‘खोइ उपमहानगरपालिकाले कस्तो निर्णय गरिदियो, गरिदियो ।’

प्रकाशित मिति: असोज ५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend