बिर्तामोडः झापा गाउँपालिका–१ माइती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ वर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका-१ का ३७ वर्षीय लखन टुडु सतार, ५६ वर्षीय सिरी साइला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय श्री हेमरम सतार रहेका छन् ।
गत भदौ २५ गते तत्काल नामथर वतन नखुलेको अवस्थामा झापा झापा गाउँपालिका–१ स्थित सानो माइखोलामा महिलाको अर्ध शरीर भएको टाउको, घाँटी, पेट (कम्मर भन्दा माथिको भाग) तथा घुँडा भन्दा मुनीको भाग नभएको अवस्थामा शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट प्रहरी टोली खटि गई घटनास्थल मुचुल्का तथा कानुनी कारबाही अगाडी बढाएको थियो । प्रहरीले अनुसन्धान तथा महिलाको अर्ध शरीरको लाश फेला परेको सम्बन्धमा स्थानीयसहित उनको पहिचान गराउने क्रममा अर्ध शरीरको लाश ५५ वर्षीया डोली भन्ने धोन्नी टुडुको रहेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए ।
शवको पहिचान खुलेसँगै थप अनुसन्धानमा जुटेको प्रहरीले उनको हत्या गरेको पुष्ठि गरेसँगै उनको हत्यामा संलग्न रहेका उल्लेखित चारैजनालाई सार्वजनिक गरेको छ ।
पक्राउ परेकाहरु मृतक धोन्नीको आफन्तहरु रहेको र जग्गाको विषयमा उनीहरुबीच विवाद हुँदै आएकोमा भदौ २५ गते यी चारै जना मिलेर धोन्नी टुडुलाई माइखोला किनारमा लगेर शरीरको विभिन्न भागमा काटी टुक्रा–टुक्रा पारेर खोलामा फालेको भन्ने अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका चारैजना उपर कर्तब्य ज्यान मुद्दामा कानुनी कारबाही अगाडि बढाइ घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।