धरानः सुनसरीको बर्जु गाउँपालिका २ टेङ्ग्रा खोलाको कल्भर्टमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा एकजनाको मृत्यु भएको छ ।
विराटनगर–देवानगञ्ज सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१८प २७६८ नम्बरको मोसा आफै अनियन्त्रित भई सडकबाट ६–७ मिटर तल झरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक बर्जु गाउँपालिका ५ बस्ने वर्ष २८ को राजेश यादव गम्भिर घाइते भएका थिए । उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको र उपचारका क्रममा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
मोटरसाइकल इप्रका देवानगञ्जको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटना तीब्र गतिका कारण भएको प्रहरीले जनाएको छ ।
उता, उदयपुरको बेलका नगरपालिका–९ खारखोलामा जीपको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
गम्भीर घाइते भई उपचार गराइरहेका बेलका–२ का ४० वर्षीय रामचन्द्र राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००२च ४८७४ नम्बरको बोलेरो जीपले बेलका–९ खारखोलाबाट पश्चिम जाँदै गरेको स४प ९१०५ नम्बरको मोटरसाइकलमा सवार राईलाई ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट घाइते राईलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक र बोलेरोलाई इलाका प्रहरी कार्यलय बेलका रामपुरले नियन्त्रणमा लिएको छ ।