Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको जंगलछेऊमा जुस बेचेर कमाउनेको कथा

हाम्रो कोशी आवाज
असोज ७ २०७८, बिहिबार
धरानको जंगलछेऊमा जुस बेचेर कमाउनेको कथा

धरानः धरानमा अहिले गर्मी छ । यही गर्मीमा जंगलको छेऊमा उखुको जुस बेच्दै गरेका भेटिए । धरान-१७ सर्दु पुलपारी उनले जुस बेच्न थालेको धेरै भएको छैन । करिब एक महिना मात्रै भयो तर उनले राम्रै आम्दानी गरिरहेको बताउँछन् । धरान-१५ का दीपक श्रेष्ठ अहिले त्यहाँ जुस बेचेर कमाइरहेको बताउँछन् ।
धरान-चतरा-बाङ्गे जाने छुट्टिने सडकको एक छेऊ (जंगल छेऊ) मा उनले जुस बेच्छन् । दैनिक उनले त्यहाँ जुस बेच्दा फाइदा लिइरहेको बताए । बजारमा जुसको दाम गिलासको ५० रुपैयाँ पर्न आउँछ भने उनले ३० रुपैयाँमा जुस खुवाइरहेका छन् । अहिले त्यहाँ चतरा, बाङ्गे, चक्रघटी, महेन्द्रनगरसम्म पुग्ने र फर्किने साथै चतरा, उदयपुरसम्म पुग्ने र फर्किने ग्राहकले उखुको जुस चाखिरहेका छन् । विशेषतः मोटरसाइकल, टेम्पोमा चढ्नेहरुले जुसको व्यापार बढाइरहेको उनले बताए ।
‘लकडाउनले के गरौं, कसरी व्यवसायलाई थप गति दिन सकिन्छ भनेर सोचियो’, उनले भने, ‘त्यसपछि यहाँ पनि व्यवसाय हुन्छ कि भनेर यहाँ धेरैदिन लगाएर अनुसन्धान गरें, त्यसपछि व्यवसाय बढ्ने देखेर यहाँ पनि दिनभरी यस्तो व्यवसाय गर्दै आएको छु ।’
उनले दिउँसो त्यहाँ व्यापार गर्ने र ४ बजेपछि धरानको पुरानो बजारतिर सडकमा व्यवसाय गर्दै आएको बताए । ‘यहाँ त भर्खर नै हो व्यवसाय थालेको’, उनले खुलाए, ‘यसअघि म पुरानो बजारमै यस्तो व्यवसाय गर्दै आएको थिएँ तर यहाँ व्यवसाय बढाउँदा थप आम्दानी हुने देखेर यहाँ आइपुगेको हुँ ।’
हुन त उनले यो व्यवसाय गरेको नै ११ वर्ष पुगिसकेको छ । उनले यस्तै व्यवसाय गरेर दुईजना छोराछोरी धरान-१५ स्थित गोर्खा एकेडेमीमा पढाउँदै आएका छन् । छोराछोरीलाई नर्सरीदेखि नै अहिलेसम्म बोर्डिङमै पढाउँदै आएको उनले जानकारी दिए । ‘छोरीले एसइई दिइसकेकी छिन्, छोरा अहिले कक्षा–८ मा पढ्दैछन् ।’ उनले भने ।
१० वर्ष विदेश (कतार) बसेको, इराकमा पनि ४ वर्ष बसेको उनले जानकारी दिए । ‘पहिला कतार र इराक बसें, त्यस्तै, लिबिया जाने भनेर लागेको थिएँ, ६–७ रुपैयाँ डुबाएँ पनि’, उनले भने, ‘त्यसपछि अब विदेश जान्नँ भनेर यो व्यवसाय थालेको हुँ, अहिलेसम्म फलिफाप नै छ, साउदी कतार जानुभन्दाचाहिँ यही व्यवसायले नै उकासिरहेको छ ।’
उनले काम ठूलो सानो नभनी नलजाइ व्यवसाय वा अन्य केही गरेर दुःख गर्ने हो भने साउदी, कतार वा अन्य खाडी मुलुक कुदिरहन नपर्ने सुझाए । उनले अहिलेका युवाहरु दुःख गर्न नचाहने र बेरोजगार छौं भनेर अलापिरहेको देख्दा उनलाई दुःख लाग्छ । ‘खाडी मुलुक जानुभन्दा यहीँ दुःख गरयो भने केही हुन्छ भन्ने कुरा युवाले बुझ्नुपर्छ ।’ उनले सुझाए, ‘कहीँ गएर जागिर खानुभन्दा आफैंले केही गरेर जागिर दिनु राम्रो हो, फुटपाथमा व्यवसाय गरेको छु र पनि मैले दुईजनालाई जागिर दिएको छु ।’
उनले दुईजनालाई रोजगारी दिएर मासिक ५० हजार रुपैयाँ बढी कमाउँदै आएको बताए । ‘स्टाफलाई पनि दिनुपर्छ’, उनले भने, ‘मासिक ५० हजार रुपैयाँचाहिँ कमाउँदै आएको छु ।’
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असोज ७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend