झापा: दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ।
प्रहरीले गएराति अर्जुनधाराबाट दुई र मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले पक्राउ परेकाहरुविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक होटलबाट पाँचथर फिदिमका २७ वर्षीय रोशन सुवेदी र २८ वर्षीय सुमन कार्कीलाई छ ग्राम ७०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो।
त्यस्तै लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीखेल मैदान छेउबाट भारत दार्जिलिङका २४ वर्षीय रतन सिंहलाई पनि पाँच ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।