विराटनगरः उच्च अदालत विराटनगरको गेटैमा एक व्यक्तिलाई खुकरी प्रहार गरी घाइते बनाइएको छ ।
काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका युवा व्यवसायी ३२ वर्षीय कमानसिंह लामामाथि आइतबार उच्च अदालत गेटैमा खुकुरी प्रहार भएको हो । लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छन् ।
खुकुरी प्रहार गरिएका उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । लामाको पेट, हातलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको अवस्था भने खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । घटनामा दुईजना युवकको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
मोटसाइकलमा आएका युवाले खुकुरी प्रहार गरेर कार्की भागेका थिए । घाइते भएका लामाको मोरङको कटहरी गाउँपालिका–६ मा रहेको इँट्टा उद्योगमा लगानी रहेको बुझिएको छ । इँटा उद्योगसँग सम्बन्धित कामले लामा विराटनगर आउने गरेका थिए । व्यवसायीसँग आपसी विवाद विवादलाई लिएर लामामाथि खुकुरी प्रहार भएको अनुमान प्रहरीले गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले कार्कीलाई खुकुरीसहित पक्राउ गरिएको जानकारी दिए । भाग्दै गरेको अवस्थामा कार्कीलाई कार्कीलाई तत्कालै पक्राउ गरिएको उनले जानकारी दिए । अर्का एक युवा फरार छन् । पहिचान खुल्न बाँकी रहेका ती युवाको खोजी तीव्र पारिएको श्रेष्ठले बताए । लामाको लगानी रहेको मोरङको कटहरीको इँटा उद्योगका विषयलाई लिएर पछिल्लो समय उत्पन्न विवादले आज सो घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार यसअघि उद्योगका सञ्चालक मोरङको नोचाका मोहम्मद साजित थिए । उद्योगमा साजित र उनकी श्रीमतीको ५०/५० प्रतिशत शेयर थियो । साजितले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेका थिए । पछि आधाआधा शेयर रहेको उद्योग नै साजितले ५ वर्षका लागि लामालाई लिजमा दिएका थिए । त्यसबापत साजितलाई लामाले वार्षिक ५० हजार थान इँटा दिने सर्तनामा थियो ।