विराटनगरः सुन्दर-हरैंचाको विराट चोकस्थित सुनचाँदी पसल दिउँसै लुट्न खोज्ने हतियारधारी गिरोहबारे आदेश जारी गरेको छ ।
न्यायाधीश सुदर्शन लामिछानको इजलासले आइतबार ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत मोरङले सो आदेश जारी गरेको हो । सुनसरीको गढी गाउँपालिका-१ का ४५ वर्षीय डाइमन्ड भनिने प्रमोद चौधरी, ३३ वर्षीय आशिष भनिने सविनकुमार चौधरी, संखुवासभा घर भई सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरामा बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई र भोजपुर घर भइ तरहरा बस्ने ३० वर्षीय नगेन्द्र राई जेल चलान भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
यस्तै, ३ जनालाई धरौटी र साधारण तारेखमा छाड्ने आदेश भएको बताए । अदालतले मोरङको सुन्दर–हरैंचा नगरपालिका–५ का २२ वर्षीय मिसन राईलाई १ लाख ५० हजार र सुन्दरहरैँचा-७ का ३१ वर्षीय सन्तोष राईलाई १ लाख २५ हजार रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । संखुवासभा घर भइ तरहरामा बस्दै आएका चिरञ्जीवी राई भने अदालतको आदेशपछि साधारण तारेखका छुटेका छन् ।
यसअघि गिरोहबाट प्रहरीले एउटा एसएमजी, त्यसको म्याग्जिन, ६२ राउन्ड गोली, कटुवा र अटोमेटिक गरेर दुई पेस्तोल, पेस्तोलको एउटा म्याग्जिन, पेस्तोलको २ र थ्री नट थ्री राइफलको ४ राउन्ड गोली, दुईवटा सञ्चार सेट तथा १६ हजार १ सय रूपैयाँ बरामद गरेको थियो ।