Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रेम सम्बन्धले लियो ज्यान

हाम्रो कोशी आवाज
असोज १० २०७८, आइतबार
प्रेम सम्बन्धले लियो ज्यान

ताप्लेजुङः १८ वर्षीया युवती पुष्पा तबेबुङ लिम्बूको हत्या भएको प्रहरीले दाबी गरेको छ । प्रहरीले हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
शव फेला परेको तीन दिनपछि ती किशोरीको हत्या गरेको आरोपमा फुङ्लिङ नगरपालिका-१० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार मात्रै सार्वजनिक गरेको हो । उनी शनिबार राति पक्राउ परेका थिए ।
घरबाट हिँडेकी एक १८ वर्षीया युवती गत शुक्रबार मृत भेटिएकी थिइन् । भानुजन माध्यमिक विद्यालयमा कक्षा–११ मा अध्ययनरत ती युवती मृत भेटिएकी थिइन् । फुङलिङ नगरपालिका-७ मा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी बालनरसिंह राणाले अहिले अभियुक्त पक्राउ गरिसकेको जानकारी दिए । बिहीबार साँझ घरबाट हराएकी पुष्पाको शव नजिकै विषको बट्टा समेत फेला परेको थियो ।
उनको शव स्थानीयले भीरमा लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा मेटासिटको बोतल भेटिएको थियो भने शरीरभरी चोट पनि थियो ।

माया प्रेमका कारण उनको ज्यान गएको प्रहरीकले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार हत्या आरोपी कार्की र किशोरीबीच करिब ९ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्धसमेत भएको थियो । विवाहको प्रसङ्ग उठाउँदा अस्वीकार गरेपछि विवाद हुँदा किशोरीको हत्या गरेको कार्कीले प्रहरी समक्ष बयान दिएका छन् । ती युवाले फुङलिङको सेते चौतारा छेउमा लगेर विष सेवन गराइ पहाडबाट धकेलेको बयान समेत दिएको प्रहरीले जनाएको छ । नाटकीय ढंगले मोटरसाइकलमा लगेर धकेलेको हुनसक्ने प्रहरीले जनाएको छ ।
फुङलिङ-७ दोखुको सेती चौतारा नजिक निगाले भीरमा उनको शव फेला परेको थियो । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम घर भई हाल सदरमुकाम फुङलिङको बिहीबारे टोलमा डेरा गरी बस्दै भएकी पुष्पाको शव शंकास्पद अवस्थामा फेला परेपछि सोहीअनुसार प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।
पीडित परिवारले समेत पुष्पाको हत्या भएको र हत्यामा संलग्नता हुन सक्ने भन्दै पक्राउ गरी अनुसन्धान गर्न भनी ती युवकमाथि नै किटानी जाहेरी दिएका थिए । पीडित परिवारको किटानी जाहेरी र घटनाको अनुसन्धानको क्रमसँगै पक्राउ परेका युवकले आफैँले हत्या गरेर शव फालेको स्वीकारेपछि प्रहरीले उनलाई सार्वजनिक गरेको हो ।
लामो समयदेखि नै आफूलाई गाली गलोज गर्ने तथा अनावश्यक तनाव दिने गरेका कारण योजनामै हत्या गरेको कार्कीको बयान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हत्या गरिएकी पुष्पाका बुबा वीरबहादुर लिम्बूले छोरीको हत्या नै भएको आशंकामा किटानी जाहेरी दिएको र घटनामा संलग्नलाई पक्राउ नगरेसम्म न्यायका लागि आन्दोलित हुने साथै महिनौं दिनसम्म पनि शव नबुझ्ने पत्रकार सम्मेलनमा बताएका थिए ।
हत्या आरोपी सार्वजनिक गरेपछि आफन्तले शव बुझेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङ जिल्ला अस्पतालमा शव पोस्टमार्टम गरी परिवारलाई बुझाएको प्रहरीले जनाएको छ । प्रनाउ राणाका अनुसार जिल्ला अदालतबाट म्याद थपेर आरोपी उपर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

प्रकाशित मिति: असोज १० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend