धरानः ताप्लेजुङ सिरिजंघा गाउँपालिका ४, तेल्लोकस्थितमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय इन्द्र भट्टराई रहेका छन् । पूर्बबाट पश्चिम आउँदै गरेको मे१त ६३९९० नम्बरको ट्याक्टरले पैदलयात्री भट्टराईलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक सञ्जराज लिम्बू इलाका प्रहरी कार्यालय तेल्लोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, उदयपुर बेलका नगरपालिका ३ त्रिवेणी चोकस्थित भित्री सडक खण्डमा स्कुटीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ७० वर्षीय हिरण्यबहादुर बस्नेत रहेका छन् । उत्तरबाट दक्षिणतर्फ गइरहेको बा६६प ६०५३ नम्बरको स्कुटीले ठक्कर दिई घाइते भएका पैदलयात्री बस्नेतको घोपा धरानस्थित बीपी प्रतिष्ठानमा उपचारको क्रममा आइतबार राति साढे ११ बजे मृत्यु भएको हो । स्कुटी र चालक सोही स्थानका २६ वर्षीय एकराज विक इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।