धरान: प्रधानमन्त्री रोजगार कार्यक्रम मङ्गलबारदेखि शुरु भएको छ ।
धरानको वार्ड नं. २० मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत छनौट भएका रोजगारदातालाई मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, वडाध्यक्षहरु मणिराम राई र नेत्रप्रसाद काफ्लेसहितको टोलीले आवश्यक पर्ने औजार सामाग्रीहरु हस्तान्तरण गरेको हो । प्राविधिक महेश नेपालीका अनुसार बीपी पार्कदेखि चिण्डेडाँडा जाने २५ सय मिटर बाटो मर्मत गरिने भएको हो । खटिएका रोजगारदाताहरुलाई माटो फ्याल्ने ठेलागाडा २ थान, बेल्चा २ थान, सेफ्टी टोपी, एप्रोन, ग्लोब्स (हातमा लगाउने पञ्जा) र गम्बुट हस्तान्तरण गरिएको उनले जानकारी दिए । उनले भने, ‘बाटो सोलिङ गर्ने, पहिरो नियन्त्रणका लागि ग्याविनको काम हुनेछ ।’
मेयर तिलक राईले आफ्नो गाउँ, आफै बनाउ भन्ने उद्देश्य लिएर काम गर्न सुझाव दिए । ‘गत वर्ष हामीले राम्रोसँग काम गर्न सकेनौं, गत वर्ष ८० लाख रुपैयाँ आएको थियो, हामीले राम्रो काम गर्न नसकेर ४० लाख रुपैयाँ मात्र आयो,’ मेयर राईले भने । मेयर राईले यसवर्ष राम्रो काम गर्न सकियो भने सरकारले अर्को वर्ष राम्रो बजेट दिन सक्ने बताए ।
उनले गत वर्ष वार्ड नं. २० को भञ्ज्याङ जाने बाटो, वडा नं. १६ र वडा नं. १७ मा मात्र राम्रो काम भएको बताए । मेयर राईले वडाध्यक्ष, प्राविधिकहरुसँग समन्वय गरेर काम गर्न आग्रह गरे । मेयर राईले नागरिकहरु कतिले काम खोजिरहेको हुन्छ ? तर, काम पाइरहेको हुँदैन, त्यसकारणले बेरोजगारहरुलाई चाहिँ अनिवार्य सय दिनको काम दिनुपर्छ भन्ने मनसायबाट सरकारले यो कार्यक्रम पठाएको स्पष्ट समेत पारे । प्रधानमन्त्री रोजगार कार्यक्रमले आफ्नो ठाउँको पनि विकास हुने, कम्तिमा रोजगारदाताको गुजारा समेत चल्न सक्ने मेयर राईको भनाई थियो ।
वरिष्ठ प्रशासकिय अधिकृत गणेशप्रसाद खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत नेपाल सरकारले २ वर्ष अघिदेखि नै आफ्नै ठाउँमा काम गर्न चाहने व्यक्तिहरुको लागि काम गरेवापत जीविकोपार्जन गर्नका लागि भनेर यो कार्यक्रम ल्याएको जानकारी दिए । उनले वडा नं. २० को बाटो मर्मत गर्नका लागि १० जनालाई छनौट गरिएको बताए । वरिष्ठ अधिकृत खतिवडाका अनुसार एक जना रोजगारदाता बराबर गत वर्ष ५ सय १७ रुपैयाँ पारिश्रमिक दिइएको थियो भने यसवर्ष एक जना रोजगारदाता बराबर ५ सय ७७ रुपैयाँ पारिश्रमिक दिइनेछ ।
