Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धराने कर्मशील युवती

हाम्रो कोशी आवाज
असोज १३ २०७८, बुधबार
धराने कर्मशील युवती

धरानः धरानका बिना राई, विद्या चौहान र अनुष्का अछामी सानैदेखि मिल्ने साथी हुन् । उनीहरुको घर नै धरान–९ हो । उनीहरु स्कुलका साथीसाथी हुन् । ‘स्कुल लेवल’ देखि ‘कलेज लेवल’ सम्म आइपुग्दा पनि साथीसाथीको सम्बन्ध गाढा छ ।
सम्बन्ध गाढा भएकै कारण उनीहरुले आत्मनिर्भर हुने कोसिस पनि गर्दै आएका छन् । लकडाउनले पनि मानिसलाई धेरै कुरा सिकायो । धेरैजसो घरमै बसेर पनि आत्मनिर्भर बन्दै गए । त्यही भएर पनि उनीहरु पनि आत्मनिर्भर बन्ने कोसिस गरेको उनीहरुले बताए । लकडाउनमा त्यतिकै बस्न नसकेको र यस्तो व्यवसाय थालेको उनीहरुले बताएका छन् ।
‘फस्ट लकडाउनको बेलामा काठमाडौंतिर अरुहरुले पनि गरिरहेको देखिरहेका थियौं’, अनुष्काले भनिन्, ‘अझै भन्ने हो भने साथी (विना)को बुबा बिरामी हुनुहुन्थ्यो, उहाँका लागि धेरै पैसा चाहिने, त्यसको लागि केही गर्नुपर्छ र उपचार गर्नुपर्छ भनेर यो व्यवसाय अपनाएका हौं ।’ उनले भनिन् ।
५ सयबाट यो व्यवसाय थालेका उनीहरुले अहिले व्यवसाय विस्तार गरिसकेका छन् । अहिले व्यवसायलाई बढाउँदै लगेका छन् । उनीहरुले अहिले मास्क, रवरका विभिन्न स्टाइल, हेयरविन, चाबेलिङ, खाना पकाउँदा समात्ने, डल, मेकअप ब्याग, ट्राभल ब्याग, वालेट, दिन सकिने गिफ्ट आइटम आदि बनाउँछन् । पसल पसलमा पुगेर उनीहरुले सामान बेच्दै आएको बताए । ‘जति पसलमा बिक्री हुन्छ, त्यो पैसाले फेरि सामान किन्दै व्यवसाय बढाउँदै लगेका छौं’, विद्या भन्छिन्, ‘यसलाई निकै ठूलो व्यवसाय बनाउने ध्येयका साथ लागेका छौं ।’
कपडाको मास्क दिगो र राम्रो हुने भन्ने बुझेर उनीहरुले यसको डिजाइन अध्ययनमै केही समय खर्चेर पुनः प्रयोग गर्न मिल्ने र हेर्दा पनि आकर्षक देखिने बुट्टेदार मास्क बनाउने सीप सिकेको बिना बताउँछिन् । ‘लामो समय लगाउन मिल्ने भएपछि डिजाइन पनि राम्रो बनाउनुपर्छ भन्ने लाग्यो’, बिनाले भनिन्, ‘कसरी राम्रो र सुरक्षित बनाउन सकिन्छ भन्नेबारेमा खोजविन गरें ।’
काठमाडौं र विदेशतिर पुनः प्रयोग गर्न मिलने मास्क चल्तीमै थिए । तिनका विभिन्न प्रकार हेरेर पनि आइडिया लिएको उनले बताइन् । त्यस्तै, उत्पादन र स्वास्थ्य विज्ञसँग सल्लाह गरेर यसको प्रभावकारिताबारे पनि बुझ्ने कोसिस गरेको उनले बताइन् । त्यसपछि मास्कमा पूर्ण विश्वस्त भएपछि यसलाई पनि व्यवसायिकरुपमा अगाडि बढाउनुपर्छ भन्ने लागेर अन्य सामग्रीसहित मास्कको व्यवसाय थालेको उनी बताउँछिन् ।
पहिलोपटक सामग्री बनाएर फेसबुक, इन्स्ट्राग्रामलगायत अन्य सामाजिक सञ्जालमा लगाएपछि धेरैले मन पराएको उनीहरु बताउँछन् । ‘धेरैपटक सामाजिक सञ्जालमा यस्ता सामग्री राख्यौं, धेरैले मन पराइदिनुभयो’, अनुष्का भन्छिन्, ‘विस्तार व्यापार बढ्दै जान थाल्यो, अहिले पनि अनलाइन व्यापार नै चलिरहेको छ ।’
अहिले ग्राहकबाट राम्रो प्रतिक्रिया पाएपछि उनीहरु झनै हौसिएका छन्, व्यवसायलाई विस्तार गरेर बृहत बनाउने उनीहरुको लक्ष्य छ । ‘ग्राहकबाट राम्रो प्रतिक्रिया पाएका छौं’, अनुष्काले खुलाइन्, ‘यसलाई ब्राण्डकै रुपमा विकास गरेर भविष्यमा व्यवसायलाई बृहत बनाउने कोसिस गर्छौं, त्यतिबेला पनि बरु सामान नबेच्ने, बेचेपछि गुणस्तरीय र ग्राहकले रुचाउने सामग्री बेच्ने ।’
सिक्न चाहनेहरुलाई पनि सीप सिकाउने लक्ष्य राखिएको उनीहरुले सुनाए । ‘जो आर्थिक अवस्था कम छ, उहाँहरुलाई लागि हामीले विशेष सीप सिकाउने र अन्यलाई केही शुल्क लिएर पनि तालिम प्रदान गर्ने लक्ष्य समेत लिएका छौं’, विद्या भन्छिन् । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असोज १३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend