धरानः शनिबार भएको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ ।
वसन्तपुरमा ट्याक्टर अनियन्त्रित हुँदा दुईजनाको मृत्यु
शनिबार नै करिब साँझ पौने ६ बजे टयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
तेह्रथुमको लालीगुराँस–४ वसन्तपुर फुलेक भित्री कच्ची सडकखण्डमा बसन्तपुरबाट फुलेकतर्फ आउँदै गरेको को२त ८४३६ नं. को टयाक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लालीगुराँस–५ बस्ने वर्ष २२ को पञ्चबहादुर मग्रान्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टयाक्टरमा सवार सोही स्थानका वर्ष १५ को खेम सार्की गम्भीर घाइते बनेका थिए । उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका लागि ल्याइएको र चिकित्सकले मृत घोषणा गरेका थिए ।
म्याङलुङ–७ बस्ने वर्ष १७ को दावा शेर्पा गम्भीर घाइते बनेका छन् भने लालीगुराँस–४ बस्ने वर्ष २३ को पवन राई सामान्य घाइते भएका छन् । उनीहरुमध्ये तीनजनाको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा मृत्यु
यस्तै, शनिबार करिब ५ बजेतिर सुनसरीको दुहवी नगरपालिका–१० चरैयास्थित भित्री सडक खण्डमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१९प ५०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर लागेर दुर्घटना हुँदा चालक वर्ष ४५ को ईश्वरचन माझीको मृत्यु भएको छ ।
टाउकोमा चोट लागेर गम्भीर घाइते बनेका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी तिम्सिनाले जानकारी दिए । उनको करिब ६ बजे मृत्यु भएको उनले जानकारी दिए । मोटरसाइकल प्रहरी चौकी औरावनीको नियन्त्रणमा प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सुनसरी बसको ठक्करबाट मृत्यु
शनिबार करिब साढे ४ बजे सुनसरी दुहवी–८ सोनापुरस्थित कोशी लोकमार्गमा बसको ठक्करले एकजनाको मृत्यु भएको छ ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको ना५ख ४५१३ नम्बरको बसले बाटो क्रस गर्दै गरेको पैदलयात्री बेलबारी नपा बस्ने वर्ष ७२ को पवनलाल चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि विराट टिचिङ अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालक सप्तरी सप्तकोशी नपा–५ बस्ने वर्ष ४४ को रोहितबहादुर विष्ट इप्रका दुहवीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण तीब्र गति नै रहेको प्रहरीले जनाएको छ ।
सिटीको ठक्करबाट ९ महिने शिशुको मृत्यु
सिटी सफारीको ठक्करले ९ महिने शिशुको मृत्यु भएको छ । विराटनगर–१४ भगवती टोल बस्ने अमर महतोको छोरा अढाइ वर्षीय अनिल महतोले घरको बाटोमा पार्किङ गरिराखेको को१ह ४३५० नम्बरको सिटी सफारीमा खेल्ने क्रममा सफारीले ठक्कर दिएको थियो । उनको भाइ ९ महिनाको सुनिल महतोलाई सिटी सफारीले ठक्कर लाग्दा उनी गम्भीर बनेका थिए ।
उपचारको लागि न्यूरो अस्पताल विराटनगर ल्याई उपचारका क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरको ब्रेकफेल हुँदा एकजना गम्भीर
मोरङको धनपालथान गाउँपालिका ५ गुरुजी टोलस्थित भित्री ग्राभेल सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ गरेको ना२त १९६५ नम्बरको ट्याक्टरको ब्रेकफेल भई दुर्घटना हुँदा ट्याक्टरमा पछाडि सवार सहचालक वर्ष २७ को श्याम ऋषिदेवलाई ट्रलीले थिची घाइते भई गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।
