धरानः झापा कन्काइ नगरपालिका २ सुकेडाँगीका ४२ वर्षीय राजबहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ ।
घिरौला टिप्न रुखमा चढेका राई रुखबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते राईको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराइ थप उपचारको लागि नोवेल अस्पताल विराटनगरतर्फ ल्याउने क्रममा आइतबार बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, घरको बरन्डाबाट लडे एकजनाको मृत्यु भएको छ । खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्रङकि ६० वर्षीया कमला राईको लडेर मृत्यु भएको छ ।
आइतबार बेलुका ८ बजे आफ्नै घरको बरन्डाबाट लडेर गम्भीर घाइते भएकी राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा राति साढे ९ बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।