Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभा हत्या प्रकरणः सबै थुनामा

हाम्रो कोशी आवाज
असोज १९ २०७८, मंगलबार
संखुवासभा हत्या प्रकरणः सबै थुनामा

संखुवासभाः संखुवासभाको मादी नगरपालिकामा भएको सामूहिक हत्यामा संलग्न सबै अभियुक्तहरुलाई थुनामा राख्न जिल्ला अदालत चैनपुरले आदेश दिएको छ ।
अदालतले हत्यामा संलग्न अभियुक्तहरु खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
अदालतको आदेशमा सबै अभियुक्तहरुलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारी र अभियुक्त लोकबहादुरका १७ वर्षीय भाइ नरेश कार्की बालक भएको ठहर गर्दै उनलाई बाल सुधार गृह विराटनगर पठाउन भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले ५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयमा आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको थियो । गत शुक्रबार प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी कार्यालयमा बुझाएको र सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत संखुवासभामा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार उनीहरूविरुद्ध कर्तव्य ज्यान र चोरी मुद्दा लगाइएको थियो । तत्काल प्राप्त प्रमाणबाट उनीहरु कसूरदार देखिएको भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको उनले जानकारी दिए ।
गएको भदौ २१ गते बिहान ८४ वर्षीया पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको शव फेला पारेको थियो । उनीहरू एउटै परिवारका हुन् । पछिल्लो समय प्रहरीले अभियुक्त भनेर सार्वजनिक गरेका पाँच जना पनि हत्या भएका परिवारकै सगोलभित्रका हुन् ।
हत्या भएको पाँच दिनपछि २७ गते मुख्य अभियुक्त भनेर प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको थियो । त्यसको केही दिनपछि थप चारजना अभियुक्तलाई पक्राउ गरेको थियो ।
घटना घटेको केही समयपछि लोकबहादुर कार्की पक्राउ परेका थिए । सुरुमा घटनाका योजनाकार उनी आफैं रहेको प्रहरीको निष्कर्ष थियो । तर, पछि मृतक रञ्जना कार्कीको हराएको मोबाइल फोनले बाँकी अभियुक्तहरु पक्रन प्रहरी सफल भएको थियो । प्रहरीले अनुसन्धानको क्रममा प्रतिवादीको घरबाट भेटेको मृतकले प्रयोग गर्ने मोबाइल, घटनामा प्रयोग भएको छुरी, घाउचोट, पाँचजनाको मिल्दोजुल्दो साविति बयानलाई नै मुख्य प्रमाणको रूपमा पेस गरेको थियो ।
३२ वर्षीय रञ्जना कार्की (हत्या भएकी महिला) दुई वटा मोबाइल चलाउँथिन् । जसमध्ये एउटा मोबाइल घटनास्थलमा भेटिएको थिएन । उनको मोबाइल प्रहरीले खोजी गरेको थियो । त्यो मोबाइल लोकबहादुरलाई सार्वजनिक गरेको केही दिनपछि उनकै भाइले प्रयोग गरिरहेको पहिचान भयो । त्यसैले उनी विरुद्ध चोरी मुद्दा समेत लगाइएको हो ।

प्रकाशित मिति: असोज १९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend