धरानः सुनसरीमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
बुधबार राति ११ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमनकुमार तिम्सिनाका अनुसार इटहरी–१७ लायन्सचोकस्थित पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटीलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
नामथर वतन नखुलेको स्कुटर चालक र पछाडि सवार अन्दाजी ३३ वर्षीय पुरुष गम्भीर घाइते बनेका थिए । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा दुवैजनाको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुको शव अस्पतालको शवगृहमा रहेको प्रहरीले जनाएको छ । ट्रक र चालक मकवानपुर हेटौडा–९ बस्ने वर्ष ३१ को अर्जुन गिरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । स्कुटर चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
धरान आउँदै गरेको बसबाट खसेर युवाको मृत्यु
पाख्रीबास नगरपालिका–४ रिनटिनडाडाँस्थित मध्यपहाडी लोकमार्गमा भोजपुरबाट धरानतर्फ आउँदै गरेको बा२ख५८४० नम्बरको गुडिरहेको बसबाट खस्दा एकजनाको मृत्यु भएको छ ।
बसको ढोका खोल्ने क्रममा सहचालक भोजपुर नगरपालिका–११ बस्ने वर्ष १८ को धनबहादुर पाठक गम्भीर घाइते बनेका थिए । उपचारको लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको र उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए ।
बस चालक भोजपुर अरुण गाउँपालिका ७ बस्ने वर्ष ३५ को दुर्गाबहादुर श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी दिए ।
धरानमामा दुर्घटना हुँदा एकजना घाइते भएका छन् । धरान–१ लक्ष्मिचोक स्थित कोशी लोकमार्गमा उतरबाट दक्षिणतर्फ आउँदै गरेको प्र २०३००१ ख २६८० नम्बरको ट्रकले सोही दिशातर्फ आइरहेको को३०प ३१४२ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भोजपुर हतुवागढी ६ बस्ने वर्ष ३६ को थानजित राई घाइते भएको प्रहरीले जनाएको छ । ट्रक चालक दाङ गंगाक्रसपुर ९ बस्ने वर्ष २४ को सतिष पौडेल प्रहरी चौकी अमरहाटको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुवै चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ ।