धरानः सुनसरी दुहबी नगरपालिका ३ पेट्रोल पम्पअगाडि कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ सुन्दरहरैंचा नगरपालिका ८ का ४५ वर्षीय लक्ष्मीप्रसाद लुइँटेल रहेका छन् । विराटनरबाट इटहरीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एनएल ०२क्यु०१३४ नम्बरको ग्यास बोक्ने ट्रकले सोही दिशा जाँदै गरेको को१०प २६८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लुइँटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक भारत बिहार बेबसराई बथौली पञ्चायत ७ का ३५ वर्षीय चन्दनकुमार ताती इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
संखुवासभा खाँदबारी नगरपालिका २ चेवास्कुल छेऊ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
मृत्यु हुनेमा चालक संखुवासभा खाँदबारी नगरपालिका ५ लेलुवाका २५ वर्षीय मणी तामाङ रहेका छन् भने घाइते भएका सहचालक सोही स्थानका १९ वर्षीय महेन्द्र तामाङको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइहेको छ ।
चेवाबाट चारबरतर्फ जाँदै गरेको प्र१०२००३ त १२२४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी मानेभन्ज्याङबाट प्रहरी टोली खटी गई दुवै जना घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारीमा पठाइएको हो ।
सो दुर्घटनाबाट गम्भीर घाइते भएका चालकको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा बिहीबार राति साढे १० बजे मृत्यु भएको थियो भने घाइते सहचालकलाई थप उपचारको लागि धरानस्थित बीपी प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । ट्याक्टर घटनास्थलमै रहेकोले निकाल्न पहल भइरहेको छ । घटना सम्बन्धमा कानुनी प्रक्रिया तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।