धरानः कोशी गाउँपालिका–७ नेपाल–भारत सीमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्दार गरेको छ ।
सीमावर्ती क्षेत्र नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकको अपहरणमा परेको १० घण्टापछि सकुशल उद्धार गरिएको छ । अपहरणमा परेका स्थानीय दीपेन सदालाई भारती प्रहरीको सहयोगमा बिहीबार राति साढे १ बजे भारतको सुपौल जिल्ला, ग्राम पञ्चायत बलबदैपुर ६ बैरयाकमालबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बालकलाई अभिभावकको जिम्मा लगाइएको छ ।
कार्यालयका अनुसार बालकका अपहरणमा नेपालबाट भारततर्फ नेपाली मजदुर लैजाने ठेकेदार भारतीय नागरिक मुकुम मियाँको संलग्नता रहेको जनाइएको छ । अपहरणमा संलग्न रहेको आरोपमा मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
बालक अपहरणमा परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतीय प्रहरी समेतको सहयोगमा खोजी गर्ने क्रममा मियाँले अपहरण गरी घरमा राखेको अवस्थामा फेला पारी ती बालकको उद्दार गरेको हो । मियाँ नेपालबाट भारततर्फ नेपाली ज्याला मजदुरी गर्ने कामदारहरु लैजाने ठेकदार रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार सुनसरीको कोशी गाउँपालिका–७ बस्ने भुल्टन सदा लगायत ५ जनाले अग्रिम २ लाख पैसा लिएका थिए । उनीहरुले कामदार नपठाएपछि मियाँलगायतको समूहले भुल्टन सदाको गाउँकै ती बालकलाई अपहरण गरी कुटपिट समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मियाँमाथि अपहरण तथा शरीरबन्धक शीर्षकअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।