Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पाक्न लागेको र पाकिसकेको धान सोत्तर

हाम्रो कोशी आवाज
कार्तिक २ २०७८, मंगलबार
पाक्न लागेको र पाकिसकेको धान सोत्तर

धरानः तीन दिनदेखि लगातार परेको वर्षाका कारण जिल्लामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनको धान पानीले ढलेको केन्द्रका बाली विज्ञ शालिकराम भट्टाराईले जानकारी दिए । उनका अनुसार जिल्लामा ८७ हजार ५०० हेक्टरमा धान खेती छ । किसानले लगाएको गरिमा, रामधान र रञ्जितलगायत अधिकांश धान पाकेर पहेँलपुर भएको थियो । धान पाके पनि किसानले दसैँका कारण धान थन्क्याउन पाएका थिएनन् ।
ज्ञान केन्द्रमा पाकेको धान लडेर र डुबेर क्षति पुगेको जिल्लाका विभिन्न स्थानका किसानबाट धामधाम जानकारी आइरहेको उनले बताए । “किसानको धेरै गुनासो आएपछि आजैदेखि हामीले अनुगमन सुरु गरेका छौँ,” उनले भने, “धान खेत पुगेर हेर्दा बिरक्त लाग्नेछ । पाकेको धान पूरै लडेर पानीमा डुबेको छ । भोलिदेखि नै घाम लागेन भने त्यो खानयोग्य पनि हुँदैन ।”
वर्षा बढिरहेका कारण थप क्षति बढ्ने सम्भावना रहेको उनले बताए। विगत वर्षहरुमा भन्दा यस वर्ष धान राम्रो फस्टाएको र उत्पादकत्व बढ्ने केन्द्रले अनुमान गरेको थियो । वर्षाका कारण धेरै धानबालीमा क्षति पुगेकाले अब त्यो सम्भावना कम रहेको उनले जानकारी दिए ।
गौरादह नगरपालिका–५ नमूना एकीकृत कृषि सहकारी संस्थाले बीउ उत्पादनका लागि लगाएको २० बिघा जमिनका धानमा क्षति पुगेको सहकारीका अध्यक्ष वेदनिधि चापागाईंले जानकारी दिए । उनले भने, “अब बीउका लागि पानीमा डुबेको धानलाई ग्रेडिङ गर्न मिल्दैन । पानी यस्तै थप दुई दिन मात्र पर्यो भने खाद्यान्नका लागि पनि प्रयोग गर्न नमिल्ने गरी धान नष्ट हुने भयो ।”
उनले बेला न कुबेलामा परेको पानी कारण धान किसान ठूलो मारमा परेको बताए । सहकारीले बासमती, कालो नुनिया, हाइब्रिड, रञ्जित, गरिमालगायत धानको बीउ उत्पादन गर्दै आएको छ । बाली थन्क्याउने बेला पानीले धानको बीउ नै मासिदिन्छ कि भन्ने पीरमा रहेको उनको भनाइ छ ।
बुद्धशान्ति गाउँपालिकाका किसान मोहन बाँस्तोलाले प्रकृतिले पनि किसानलाई ठगेको गुनासो गरे। उनले दैनिक हूल बाँधेर आउने जङ्गली हात्तीबाट जोगाएर पाकेको धानमा पानीले ठूलो क्षति पुगेको जानकारी दिए। “जङ्गली हात्तीबाट रातभर जाग्राम बसेर बचाएको धान बालीलाई प्रकृतिकोपबाट बचाउन सकिएन,” उनले भने, “बेलैमा भोकमरी लाग्ने भयो ।” रासस

प्रकाशित मिति: कार्तिक २ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend