धरानः अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित १३२ केभी सवस्टेसन सञ्चालनमा आएसँगै विद्युत सेवा पनि सञ्चालनमा आएको छ । सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको हो ।
वर्षाले धरानलगायत प्रदेश १ का विभिन्न जिल्ला अन्धकार बनेको थियो । विद्युत अवरुद्ध हुँदा मोबाइलको नेटवर्क समेत नआएको स्थानीयले बताएका छन् ।
दुहवी सबस्टेशनबाट विद्युत ‘सप्लाई’ हुने सबै क्षेत्रमा एकैपटक विद्युत अवरुद्ध भएको हो । निरन्तरको वर्षासँगै दुहबी ग्रिड सेक्सनमा पानी जमेपछि प्रदेशमा विद्युत् सेवा अवरुद्ध बनेको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले बताए ।
मंगलबार रातिदेखि नै विद्युत अवरुद्ध बनेपछि उपभोक्ताहरुले सबस्टेशन नै सार्नुपर्ने भन्दै सरकारकै कमजोरी भएको बताउँदै आएका छन् । धरान–१९ का विष्ण थाम्देनले डुबान हुने ठाउँमा विद्युतको सबस्टेशन राख्नु राज्यको कमजोरी भएको बताए । उनले डुबानमा नपर्ने पूर्वका विभिन्न ठाउँ रहेको हुनाले त्यहाँ सबस्टेशन सार्नुपर्ने धारणा राखेका छन् ।
विद्युत प्राधिकरणको सबस्टेशन डुबानमा परेपछि अवरुद्ध भएको प्रदेश १ को विद्युत सेवा बिहीबारदेखि दिउँसोदेखि सञ्चालनमा आएको हो ।
नेपाल विद्युत प्राधिकरण प्रदेश १ का निर्देशक राजन ढकालका अनुसार सवस्टेशन डुबानमा परेको कारण समस्या आएको बताए । डुबानमा परेपछि सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत आपूर्ति हुँदा उपभोक्ता मारमा परेका छन् ।
प्रदेश १ मा एक ग्रिड सेक्सन, एक क्षेत्रीय कार्यालय र १८ वटा वितरण शाखा छन् भने ६ लाख ८२ हजार आठ सय ८९ सेवाग्राही छन् ।