विराटनगरः बेमौसमी वर्षाका कारण १ नम्बर प्रदेशमा गएको तीन दिनयता बाढी–पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाइते र १३ जना बेपत्ता भएका छन् भने सयौं घर डुबानमा परेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईका अनुसार प्रदेश १ मा सबैभन्दा बढी पाँचथर जिल्लामा मानवीय क्षति भएको छ ।
पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएका छन् । पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिँदा २८ जनाको मृत्यु, १० जना घाइते र ६ जना बेपत्ता भएका हुन् ।
यसैगरी इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते तथा १ जना बेपत्ता भएका छन् ।

यस्तै, धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका–१२ मा १ जनाको मृत्यु भएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ मा खोलाले बगाएर १ जनाको मृत्यु भएको तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाउँपालिकामा बाढीका कारण १–१ जनाको मृत्यु भएको छ ।
बेमौसमी झरीका कारण सयौं घर डुबानमा परेका छन् भने ४ हजार भन्दा बढी मानिसहरु विस्थापित भएका छन् । डुबान भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन भई विस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने कार्य भइरहेको छ । हालसम्म १ नम्बर प्रदेश भरी ५ हजार ९५ जना प्रहरी जनशक्ति उद्दार कार्यमा परिचालन भइरहेका छन् भने बाँकी प्रहरी तयारी अवस्थामा रहेका छन् ।
