बिर्तामोडः पूर्व-पश्चिम लोकमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–८ मा ट्रक र मोटरसाइकल ठोक्किँदा शनिबार राति एक युवाको मृत्यु भएको छ ।
प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मोटरसाइकलका चालक झापाको अर्जुनधारा नगरपालिका–३ का २७ वर्षीय निश्चल खनालको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०१–००१ख.३५२० नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मे.५प.८४७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए । टाउकोमा चोट लागेर गम्भीर घाइते बनेका खनालको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा राति १०ः२५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रक र चालक झापा बुद्धशान्ति गाउँपालिका–३ का ४४ वर्षीय लक्ष्मीप्रसाद शिवाकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
मोटरसाइकलको तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) साथमा भए, नभएको केही पनि नखुलेको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।