Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा प्रधानमन्त्री देउवा

हाम्रो कोशी आवाज
कार्तिक ७ २०७८, आइतबार
प्रदेश १ मा प्रधानमन्त्री देउवा

धरानः प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् । उनले ऋण लिएर भएपनि बासस्थान र खानाको प्रबन्ध गर्ने आश्वासन दिए । ‘विदेशीसँग सहयोग मागेर भएपनि बाढीपीडितलाई राहत दिन्छौं’, उनले भने ।
प्रदेश १ का विभिन्न जिल्लामा बाढीपहिरोले पारेको प्रभावबारे बुझ्न आएका देउवाले आइतबार बिहान इटहरी १७ स्थित सशस्त्र प्रहरी बलको प्राङ्गणमा आयोजित एक कार्यक्रममा देशमा भएका स्रोत, साधनको प्रयोग कम भएमा विदेशसँग मागेर भएपनि बाढीपीडितको घाउमा मल्हम लगाउने बताएका हुन् ।
उनले अहिले बाढीपहिरोमा परेकाहरूलाई अल्पकालीन रूपका लागि भएपनि काम भइरहेको बताए । देउवाले भने, ‘अहिले अल्पकालीन कामहरू भइरहेको छ, जुन तत्काल आवश्यक छ, ती ठाउँमा भइरहेका छन्, दीर्घकालीन कामका लागि पनि पहल भइरहेका छन् ।’

प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा खटिएका सुरक्षा निकायलाई धन्यवाद पनि दिए ।

प्रधानमन्त्री देउवा आजै इलाम र पाँचथर पुगी क्षतिका विषयमा अवलोकन एवं जानकारी लिने कार्यक्रम रहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाले जानकारी दिए । उनका साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार छन् ।
अनुगमन गर्न आएका प्रधानमन्त्री देउवाले करीब चार मिनेट सम्बोधन गरेका थिए । प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्रयाउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘ अहिलेको अवस्था बुझेको छु, काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौं, साधन स्रोत मागेर भए पनि अहिलेको अवस्थामा पीडितहरुलाई सहयोग जुटाउँछौँ, बाढीपहिरोले धेरै नोक्सान गरेको छ, हामी पीडितलाई ऋण लिएर भएपनि वासस्थानको र खानाको लागि व्यवस्था गर्नेछौं, सरकारको पहिलो प्राथमिकता भनेकै यही हो, अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौँ ।’
सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताए ।

प्रकाशित मिति: कार्तिक ७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend